शीर्षकहरू

सुन धितो राखेर ऋण लिने बढे, कुन बैंकले दिए कति कर्जा ?

सुन धितो राखेर ऋण लिने बढे, कुन बैंकले दिए कति कर्जा ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य घटे पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष सुनको मूल्य उच्च छ । यससँगै पछिल्लो समय सुन–चाँदी धितोमा राखी कर्जा माग गर्नेको संख्या बढेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको अवधिमा सुन–चाँदी धितो राखेर बैंक तथा वित्तीय संस्थाहरूले ६२ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको यही अवधिमा ५१ अर्ब ३९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । केन्द्रीय बैंकको तथ्यांकअनुसार पछिल्लो ४ महिनामा सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा ७.३ प्रतिशतले बढेको छ ।

चालु आवको कात्तिक महिनासम्ममा वाणिज्य बैंकहरूले सुन–चाँदी धितो राखी ५७ अर्ब ५४ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो रकम गत आवको यही अवधिको तुलनामा २३.९९ प्रतिशतले बढी हो । गत आवको यस अवधिमा वाणिज्य बैंकहरूले ४६ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

पछिल्लो समय नेपालको सुनको मूल्य आकाशिएको छ । सरकारले सुनको आयातमा लाग्ने कर घटाएपछि सुन मूल्य घट्ने आकलन गरिएको थियो । तर सुनको मूल्य पुन: बढ्न थालेको छ । सुनको मूल्य बढेसँगै सुन–चाँदी धितोमा राखी कर्जा लिनेको संख्या पनि बढेको हो । 

कुन बैंकले कति प्रवाह गरे सुन–चाँदी कर्जा ? 
चालु आवको चार महिनाको अवधिमा १५ वटा वाणिज्य बैंकले भने सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छन् । तर, ५ बैंकले भने यस्तो कर्जा प्रवाह गरेनन् । कात्तिक मसान्तसम्म नेपाल बैंकले सबैभन्दा धेरै सुन–चाँदी धितो कर्जा  प्रवाह गरेको छ । यस अवधिमा बैंकले सुन–चाँदी धितो राखेर २४ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको यही अवधिको तुलनामा ३४.८१ प्रतिशतले धेरै हो । 

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर २१ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १५.७ प्रतिशतले बढी हो । प्राइम कर्मसियल बैंकले १८ अर्ब ८८ करोड रुपैयाँ सुन–चाँदी धितो कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७ प्रतिशतले बढी हो । लक्ष्मी सनराइज बैंकले ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ  । यो रकम गत आवको सोही अवधिको तुलनामा ७० प्रतिशतले बढी हो । सिटिजन्स बैंकले ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको  छ। यो गत आवको सोही अवधिको तुलनामा ३.२२ प्रतिशतले कम हो । 

नबिल बैंकले भने ६९ करोड कर्जा प्रवाह गरेको  छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १२४ प्रतिशतले बढी हो । माछापुच्छ्रे बैंकले १६ करोड, प्रभु बैंकले ७ करोड, एनआईसी एशियाले दुई करोड, कृषि विकास बैंकले एक करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अन्य बैकले न्यून रकम प्रवाह गरेका छन् ।

एनएमबी बैंक, सानिमा, कुमारी बैंक, कृषि विकास बैंक, एनआईसी एशिया र सिटिजन्स बैंकले भने सुन–चाँदी धितो कर्जा गत आवको तुलनामा घटाएका छन् । 

सुन–चाँदी धितो कर्जालाई कडाइ गर्दै राष्ट्र बैंकले 
नेपाल राष्ट्र बैंकले सुन–चाँदी धितो राखी कर्जा प्रवाह गर्ने प्रक्रियालाई कडाइ गर्दे आएको छ । केन्द्रीय बैंकले बैकहरूलाई २०८३ असार मसान्तभित्र सुन–चाँदी धितो कर्जा एकल ग्राहक ५० लाख रुपैयाँमा ल्याउन भनेको छ । 

केन्द्रीय बैंकले गत आर्थिक वर्षको अर्ध वार्षिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाका लागि सुन–चाँदी धितो कर्जामा सीमा ५० लाख तोकेको हो । यसअघि ५० लाखभन्दा बढी कर्जा सुन–चाँदी धितोमा प्रवाह गरेको भए २०८३ असार मसान्तभित्र एकल ग्राहक कर्जा सीमाभित्र ल्याउनुपर्नेछ ।

केन्द्रीय बैंकको निर्देशनसँगै केही बैंकले कर्जा नै दिएका छैनन् भने केहीले  घटाएका छन् । बैंकहरूले बजार मूल्यको आधारमा सुन धितोमा राखी कर्जा दिँदै आएका छन् ।