शीर्षकहरू

अब किसानले अनलाइनबाटै सागपातदेखि पिँडालुसम्मको बीमा गर्न सक्ने

अब किसानले अनलाइनबाटै सागपातदेखि पिँडालुसम्मको बीमा गर्न सक्ने

काठमाडौँ । अबदेखि किसानहरूले तरुलको पनि अनलाइनबाटै बीमा गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले तरकारी बीमालेख संशोधन गर्दै तरकारी बालीको वर्गीकरण गरेको छ । तरकारीको प्रकार, उत्पादकत्व, बाली अवधि र बाली टिप्ने प्रकृतिको आधारमा तरकारीको  वर्गीकरण गरेको हो । 

प्राधिकरणले कन्दमूल समूह, लहरे समूह, काउली समूह, जरे बाली समूह, फल बाली समूह, सागपात बाली समूह, गानो बाली समूह, कोशे बाली समूह र अन्य तरकारी बाली समूहमा तरकारीको वर्गीकरण गरेको छ । त्यस्तै, एक वर्षीय, बहु वर्षीय, छोटो अवधि, लामो अवघि, बाली अवधि ६ देखि ८ महिना र  बाली टिप्ने प्रकृतिमा पनि विभाजन गरेको छ ।  

कन्दमूल समूहमा पिँडालु, तरुल, सिमल तरुल, सखरखण्ड, ओल, फूलतरुलमा विभाजन गरेको छ । पिँडालुलाई एक वर्षीय बालीमा राखिएको छ । बाली अवधि ५ देखि ६ महिना तोकिएको छ । उत्पादकत्क प्रति हेक्टर ११.५६ मेट्रिकटन राखिएको छ । तरुललाई पनि एक वर्षीय बालीमा राखिएको छ  । बाली अवधि भने ८ देखि १० महिना राखिएको छ । यसको उत्पादन प्रतिहेक्टर १४.३९ मेट्रिकटन हुनुपर्नेछ । 

सिमल तरुल  एक वर्षीय बाली भए पनि छोटो समयावधिमा तयार हुने जातमा राखिएको छ । यसको बाली अवधि ६ देखि ७ महिना तोकिएको छ । त्यस्तै, लामो अवधिमा तयार हुने  जातलाई ८ देखि १० महिना बाली अवधि राखिएको छ। 

सगरखण्डलाई स्थानीय जातको लागि बाल अवधि ८ महिना तोकिएको छ । मध्य पहाड गर्मी याममा हुनेलाई ४ देखि ५ महिना र सुन्तले जातको सगरखण्डलाई ३ देखि ५ महिनाको बाली अवधि तोकिएको छ । ओलको बाली अवधि ७  देखि ९ महिना र फुलतरुलको बाली अवधि ८ देखि १० महिना तोकिएको छ ।

लहरे समूहमा क्राँक्रो, घिरौँला, फर्सी, करेला, लौका, स्क्वास, परबल, इस्कुस, चिचिन्डा, पाटे घिरौँला, कुभिन्डो, बरेला, ककडी र कुन्द्रूलाई राखिएको छ । यिनीलाई एक वर्षीय र बहु बाली टिपाइ बालीभित्र राखिएको छ । काउली समूहमा काउली, बन्दा, ब्रोकाउली, शलगम र ग्याँठ गोभीलाई राखिएको छ । जरे बाली समूहमा मूला, गाजर, सरगम, चुकन्दरलाई राखिएको छ । फल बाली समूहमा गोलभेडा, भान्टा, भेडे खुर्सानी, पिरो खुर्सानी, अकबरे खुर्सानी र भिंडीलाई राखिएको छ । सागपात बाली समूहमा रायो, चम्सुर, पालुंगो, मेथी, स्विसचार्ड र जिरीको साग राखिएको छ । 

गानो बाली समूहमा प्याज, लसुन, श्यालोट र छयापी परेका छन् । कोशे बाली  समूहमा केराउ, घिउ सिमि, झांगे सिमि, बोडी, भटमास र बकुल्लालाई राखिएको छ । अन्य तरकारीमा बालीमा कुरिलो परेको छ । बीमा गरिएको तरकारीको क्षतिपूर्ति बालीको टिपाइ अवधि र टिपाइ प्रतिशतको अधारमा भुक्तानी गरिनेछ ।

प्लाष्टिक घर वा खुला जमिनमा गरिएको खेतीको टिपाइ शुरु नै नभएको अवस्थामा क्षतिग्रस्त भएमा १०० प्रतिशत क्षतिपूर्ति भुक्तानी गर्नुपर्नेछ । प्लाष्टिकको घरमा गरिएको तरकारीको १० प्रतिशत टिपाइ पुगेको अवस्थामा क्षति भएमा कम्पनीहरूले ९० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । ५० प्रतिशत भएमा कम्पनीहरूले ५० प्रतिशत नै भुक्तानी गर्नुपर्नेछ । ८० प्रतिशत भएमा २० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । ९० प्रतिशत टिपाई भएमा १० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, खुला जमिनमा गरिएको खेतीमा ४० प्रतिशत टिपाई भएको अवस्थामा तरकारी खेतीमा क्षति पुगेमा कम्पनीहरूले ६० प्रतिशत भुक्तानी प्रतिशत भुक्तानी गर्नुपर्नेछ । ७० प्रतिशत टिपेको अवस्थामा ३० पतिशत भुक्तानी गर्नुपर्नेछ । प्राधिरकरणले प्रत्येक कम्पनीको दाबी प्रक्रिया फरक फरक तोकेको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा नेपाल बीमा प्राधिकरणबाट हाल कृषि तर्फ तरकारी बीमालेख र पशुपन्छीतर्फ पशुधन बीमालेख अनिवार्य सफट्वेयर मार्फत जारी गर्ने व्यवस्थाा गरिएको छ। तरकारी बीमालेख र पशुधन बमिालेख सफट्वेय मार्फत जारी भएपश्चात् सोको प्रभावकारीता हेरी अन्य बीमालेखहरू जारी गर्न तथा मोबाइल एप सञ्चालन लगाययतका विषयहरू पछि जानकारी गराइने प्राधिकरणले जनाएको छ ।

कसरी गर्ने बीमा?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइटमा जाने 
आफ्नो खाता खोल्ने
आफ्नो युजरनेम र पासवर्ड राख्ने
आफ्नो पेसा (कृषक/फार्मर) र प्रकार छान्ने
आफ्नो नाम, इमेल र मोबाइल नम्बर राखेपछि ओटिपी बटन क्लिक गर्ने
ओटीपी नम्बर राखेर लग इन गर्ने ।

त्यसपछि आफ्नो ग्राहक पहिचान फारम भर्नुपर्नेछ । कृषकले आफ्नो पहिचान खुलाउने सबै विवरणहरू राख्नुपर्नेछ । सबै विवरणहरू राखेपछि पेश गर्नुपर्ने हुन्छ । पेश गरिसकेपछि प्रयोगकर्ताको खाता पूर्ण हुनेछ । 

लग इन गरिसकेपछि कृषकले ड्यासबोर्ड पृष्ठ देख्न सक्नेछन् । जहाँ कृषकले आफ्नो प्रोफाइल एडिट र आफूले बीमा गर्न लागेको वस्तुको प्रारम्भिक अनुरोध गनृ सक्नेछन । प्रोफाइल हेर्न तथा विवरण सच्चाउन सकिने छ । त्यसपछि कृषकले मेनु सूचीमा हेरी आफूले गर्न लागेको बीमालेख छानी प्रारम्भिक अनुरोध गर्न सक्नेछन् । 

प्रारम्भिक अनुरोध फारम भर्नका लागि प्रारम्भिक अुनरोध बटन क्लिन गनुृपर्नेछ । जसमा क्लिक गरिसकेपछि कृषकलाई प्रारम्भिक अनुरोध भर्ने फारममा लगिन्छ । सबै विवरण भरेपछि नक्सामा पनि आफ्नो फार्म रहेको स्थानमा मार्क गरी पेस गर्नुपर्नेछ । जसबाट कृषकलाई पुन: केही विवरणहरू सच्चाउनुपर्ने वा छुटेका कुराहरू अवलोकन गर्न सक्नेछन् । 

कृषकले आफ्नो प्रारम्भिक अनुरोध फारम पेस गरिसकेपछि कृषकको तर्फबाट पहिलो चरणको कार्य सम्पन्न हुनेछ । त्यसपश्चात कृषकले फारम भर्दा छानेको बीमा कम्पनीले कृषकको प्रारम्भिक अनुरोध फारम हेरी भरेको विवरणहरू सही ठहरेपछि त्यस फारम कुनै एक प्राविधिकलाई नियुक्त गर्नेछ । कम्पनीले बीमा प्रस्ताव स्वीकृति गरेपछि मात्रै कृषलले बीमा खरिद गर्न सक्नेछन् ।