शीर्षकहरू

हिमालयन बैंकको साधारणसभा पुस २९ गते, छैन लाभांश

हिमालयन बैंकको साधारणसभा पुस २९ गते, छैन लाभांश

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले पुस २९ गते ३२औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले दोस्रो वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कम्नपीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछिको वर्ष भने कम्पनीले लाभांश वितरण गरेको छैन् । यस कम्पनीले प्रिमियम मूल्य ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकसँर्ग उक्त एफपीओ जारी गर्न गत असोज १५ गतेनै स्वीकृति माग भएको जानकारी कम्पनीले दिएको छ । राष्ट्र बैंकले स्वीकृत गरेपछि नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि प्रक्रिया अघि बढ्नेछ । एफपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।