कैलाली । धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहबाट ५ सय ४९ ग्राम २ सय मिलिग्राम सुन जस्तो देखिने धातुको टुक्रा २ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश मोहला बजार-२ पलियाकला खिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले युपि ३२ जेभि ९२०० नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी कार चालक दिपक र कारमा सवार सुमितलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट ल्यापटप १ थान, मोबाइल २ थान, ४४ हजार ८ सय १० नेपाली रूपैयाँ र १ हजार २ सय ८० भारतीय रूपैयाँ समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।