शीर्षकहरू

१७ प्रतिशतले बढ्यो निर्यात, पाँच महिनामा ७ खर्ब ३५ अर्बको वैदेशिक व्यापार

१७ प्रतिशतले बढ्यो निर्यात, पाँच महिनामा ७ खर्ब ३५ अर्बको वैदेशिक व्यापार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्यातमा सुधार देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा आयात ३ प्रतिशतले बढ्दा निर्यात भने १६.५४ प्रतिशतले बढेको छ ।

यस अवधिमा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । विभागका अनुसार गत वर्ष यही अवधिमा ६३ अर्ब २० करोडको निर्यात भएको थियो। 

यस्तै साउनदेखि मंसिरसम्ममा  ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको आयात भएको थियो ।

विभागका अनुसार चालु आवको पाँच महिनामा कुल ७ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जुन, गत वर्षको यही अवधिको तुलनामा ४.२१ प्रतिशतले बढी हो । गत वर्ष साउनदेखि मंसिरसम्ममा ७ खर्ब ५ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।