काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा परेको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा अभियोग पत्र दायर गरेसँगै उनको पद स्वत: निलम्बनमा परेको हो ।
सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वत निलम्बन हुने व्यवस्था छ । उनीविरुद्ध उक्त कसुरसहित तीन कसुरमा मुद्दा दायर भएको हो ।
ऐनमा भनिएको छ, ‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वत निलम्बन भएको मानिनेछ।’
आइतबार रविसहित पूर्वडीआईजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलगायत ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।