काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर गरेको छ । शुक्रबार जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालयले आइतबार थप ३१ जनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा अभियोग पत्र दायर भएको छ । रविसहित पूर्वडीआईजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलगायतविरुद्ध आज मुद्दा दायर गरिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछाने गएको कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।