शीर्षकहरू

बेल्जियममा हीराको व्यापार संकटमा, व्यापारी पलायन

बेल्जियममा हीराको व्यापार संकटमा, व्यापारी पलायन

एजेन्सी । ‘हीरा राजधानी’ मानिने बेल्जियमको बन्दरगाह सहर एन्टवर्पमा हीराको व्यापार संकटमा परेको छ । रुस–युक्रेन युद्धका कारण युरोपेली संघले रूसी हीरा आयातमा प्रतिबन्ध लगाएपछि हीराको व्यापारमा ऐतिहासिक रुपमै गिरावट भएको हो । 

सयौं वर्षदेखि हीराको व्यवसायको हब मानिएको उक्त सहरबाट धेरै व्यापारीहरु पलायन समेत हुन थालेका छन् । उक्त क्षेत्रको एकसय मिटर लामो सडकमा करिब दुई हजार हीरा कम्पनीहरूको घर थिए । तर ति अब बन्द हुने तरखरमा छन् ।

रुसी हीरामाथि युरोपेली संघले लगाएको प्रतिबन्धले बेल्जियमको कच्चा हीरा आयातमा तीव्र गिरावट आएको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा मात्रै, आयात ३८ प्रतिशतले घटेको छ, जसले हिरासँग सम्बन्धित रोजगारीमा उल्लेखनीय कमी आएको सीसीटीभीप्लसले जनाएको छ ।

दोस्रो पुस्ताका हीरा व्यापारी तारेक दायेखले ५० वर्ष पुरानो हीराको व्यापार छाड्नुपर्ने अवस्था आएको बताए । उनले इयूको प्रतिबन्ध, कडा नियमहरू, आर्थिक मन्दी र ऊर्जा संकटलगायतका कारण व्यवसाय छाड्नुपर्ने अवस्था आएको सुनाए । धेरै व्यापारीहरु दुवइतिर पलायन भएका छन् ।