उदयपुर । यहाँको रौता गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेका छन् । रौतामाई पञ्चकन्या देवीको दर्शन तथा पूजाआरधना गर्न र रौताबाट देखिने मनोरम दृश्यालोकन गर्न कोशी प्रदेश र मधेश प्रदेशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउन थालेको रौता माई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापाले बताए ।
उनका अनुसार हाल दैनिक रौता क्षेत्र पर्यटकले भरिभराउ हुन थालेको छ । चिताएको पुग्ने धार्मिक विश्वासका साथ रौता पञ्चकन्या देवीको पूजा तथा आराधना गर्न र हिमश्रृङला हेर्न मौसम सफा भएसँगै पर्यटक बढेको रौतामाई–४ का पूर्व वडाअध्यक्ष पाण्डब राईले बताए ।
रौताबाट उत्तर दिशातर्फ एकैपटक अवलोकन गर्न सकिने सात वटा हिमाल र पहाडी जिल्ला, भोजपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ, सोलु र ओखलढुङ्गासहित देखिने रौताका होमस्टे सञ्चालक हर्क सिजाली मगरले बताए ।
त्यसैगरी तराईका जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, झापा, सुनसरी र मोरङसहित सप्तकोशी नदीसमेत यस क्षेत्रबाट अवलोकन गर्न सकिन्छ । यहाँ विभिन्न विद्यालयहरुले विद्यार्थीलाई वनभोजका लागि समेत ल्याउने गरेका छन् ।
मङ्सिसर लागेसँगै दैनिक पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय र होमस्टेमा व्यापार बढेको स्थानीय होमस्टे सञ्चालक गङ्गा माया मगरले बताए । रौता क्षेत्रमा आउने पर्यटकमध्ये दैनिक बास बस्नेको सङ्ख्या हाल दैनिक १० देखि २५ जनासम्म आउन थालेका छन् ।
समुद्री सतहदेखि दुई हजार मिटरको उचाईमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल रौता पोखरीको अगाडि रौता पञ्चकन्या देवीको मन्दर रहेको छ । पोखरी आसपासमा जङ्गल भएपनि यस क्षेत्रको पोखरीमा खसेका रुखका पात चराले टिपेर अन्यत्र लाने विश्वास गरिन्छ । जसका कारण पोखरी सफा रहने गरेको स्थानीयबासी बताउँछन् ।
रौतामाइ–४ आँपटारका ७८ वर्षीय जगतबहादुर राईका अनुसार रौता पोखरीको पानी हरियो वा निलो रङगको देखिने गरियो भने गाउँघरमा अन्न बाली धेरै उत्पादन हुने किम्वदन्ती छ । यदी पानीको रङ बदलेर पहेँलो देखियो भने गाउँघरमा रोग व्याधी, दुःख बिमार फैलने विश्वास गरिन्छ । पोखरीको पानी स्वच्छ हुँदा देशमा शान्त हुने झै झगडा नहुने किम्वदन्ती छ । यहाँ परेवा, हाँस, कुखुरा वा पाठी भोग दिएर पूजा गरिने र कतिपयले नरिवल र दुध चढाएरसमेत रौता पञ्चकन्या देवीको पूजा गर्ने गर्छन् ।