शीर्षकहरू

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी चयन

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी चयन

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिको पदमा डा. विन्दुनाथ लोहनी चार वर्षका लागि चयन भएका छन् ।

नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार संरक्षण परिषदको पहिलो बैठकले शुक्रबार डा.लोहरीलाई चयन गरेको हो । सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा. लोहनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । 

कुलपतिमा चयन भएपछि शुक्रबार बसेको परिषदको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई संस्थागत विकास गर्न पहिलो चरणमा स्रोत जुटाउने कामलाई प्राथमिकता दिने बताए । 

निजामती सेवाबाट पेशागत जीवन सुरु गरेका डा. लोहनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एशियाली विकास बैंकमा विभिन्न महत्वपूर्ण पदमा ३० वर्ष काम गरिसकेका छन् । 

विकास, वातावरण र व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा एक प्रवुद्ध व्यक्तित्वको रूपमा परिचित डा.लोहनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट विभूषित भइसकेका छन् ।

गत भदौ तेस्रो साता संघीय संसदको प्रतिनिधिसभाको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरेपछि विश्वविद्यालय खोल्ने बाटो खुलेको हो । सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक सदनमा पेस गरेको थियो ।

विश्वविद्यालयमा संरक्षक, प्राज्ञिक र कार्यकारी परिषद् तथा अनुसन्धान केन्द्र, स्कूल र कलेजलगायत संरचनात्मक सङ्गठन तथा कुलपति, उपकुलपति, रजिष्ट्रार, डीन, निर्देशक र प्रिन्सिपल पदाधिकारी हुने व्यवस्था छ ।