काठमाडौँ । 'जनयुद्ध' शब्द प्रयोगमा रोक लगाउने सर्वोच्च अदालतको आदेशमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आपत्ति जनाएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले जनयुद्ध प्रतिबन्धित भएको बताए ।
'तिमी प्रतिबन्ध भएको सुने, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चाहन्छन् । धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबालको कमी भएको महशुस गरेको छु । तर युगको माग, युवाको दिमाग र प्रविधिको विकाससंगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौँ,' उनले भनेका छन्, 'देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्प सहित नयाँ पुस्ताको चाहना अनुसार एआई मा सवार हुनेछौ। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौ।'
सर्वोच्चको संवैधानिक इजलासले गत मंसिर २६ गते सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै जनयुद्ध शब्द प्रयोगमा रोक लगाएको थियो । उक्त आदेश बिहीबार प्रमाणीकरण भएको हो ।