शीर्षकहरू

डिप्रोक्स लघुवित्तले प्रस्तावित १० प्रतिशत लाभांश पुस २६ गते पारित गर्ने

डिप्रोक्स लघुवित्तले प्रस्तावित १० प्रतिशत लाभांश पुस २६ गते पारित गर्ने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २६ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सेभेन स्टार सौराह, चितवनमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

 सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले उक्त प्रस्तावलाई समेत सभामार्फत अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा १७ करोड ६ लाख १९ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लािग शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उल्लेखित प्रस्तावहरुसँगै संस्थापक शेयरधनीहरुबाट ३ जना सञ्चालक निर्वाचन गर्ने र अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।