शीर्षकहरू

महुली लघुवित्तको एफपीओ आजदेखि निष्कासनमा

महुली लघुवित्तको एफपीओ आजदेखि निष्कासनमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गते (आज) देखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गरेको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गरेको हो । हाल कम्पनीको सर्वसाधारणतर्फको स्वामित्व १९ दशमलव ६८ प्रतिशत रहेको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता एफपीओ निष्कासन गरेकोे हो ।

 धितोपत्र दोस्रो बजारमा सूचीकृत यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ५०० रुपैयाँभन्दा बढी छ । सर्वसाधारणतर्फको स्वामित्व ३० प्रतिशत कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँमै कम्पनीको एफपीओ खरीद गर्न पाउने अवसर पाएका हुन ।

यो एफपीओमा लगानीकर्ताले छिटो अवधिपुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । प्रति शेयर १०० रुपैयाँमानै खरीद गर्न पाइने यो अवसरको सदुपयोग गर्दै लगानीकर्ताको आवेदन पहिलो दिनमानै मागभन्दा बढी पर्ने निश्चित छ । यस आधारमा कम्पनीको एफपीओ छिटो अवधि पुस ९ गतेसम्म मात्र विक्रीमा रहनेछ । 
यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ।एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्तसम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईनबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। लगानीकर्ताले कम्पनीको आईपीओले पाएको रेटिङ्गलाई पनि लगानीको धारणाका लागि आधार बनाउन सक्नेछन् ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड महुली सामुदायिक विकास केन्द्रबाट प्रबद्र्धन भई २०६९ साल भदौ १७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो ।कम्पनीले नेपाल राष्ट्र बैंकबाट २०७० साल जेठ ३० गते कारोबारका लागि अनुमति प्राप्त गरी सोही मितिदेखि कारोबार सञ्चालक गर्दै आएको छ । २०७६ साल माघ ८ गते नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर सम्बन्धी सम्झौता गरेको कम्पनीले २०७७ साल मंसिर ८ गतेदेखि एकिकृत कारोबार सुरु गरेकोहो । राष्ट्रिय स्तरको यस कम्पनीले हाल सात ओटै प्रदेशमा ६४ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

हाल कम्पनीमा संस्थापकतर्फ ८० दशमलव ३२ प्रतिशत र सर्वसाधारणतर्फ १९ दशमलव ६८ प्रतिशत शेयर स्वामित्व कायम छ । अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी भने ३२ करोड २३ लाख ७८ हजार रहेको छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ कायम हुनेछ । एफपीओपछि कम्पनीमा संस्थापकतर्फ २५ लाख ८९ हजार ४६२ दशमलव ५४ कित्ता र सर्वसाधारणतर्फ ११ लाख ९ हजार ७७२ दशमलव ४६ कित्ता शेयर कायम हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको अघिल्ला तीन आर्थिक वर्षको वास्तविक वित्तीय विवरण अनुसार निरन्तर सञ्चित नाफामा रहेको देखिन्छ । आर्थिक वर्ष ०७७÷७८ मा १५ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी आर्थिक वर्ष ०७८÷७९ मा भने १० करोड ७५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा थियो । आर्थिक वर्ष ०७९÷८० मा कम्पनीको सञ्चितनाफा १ करोड ६४ लाख रुपैयाँभन्दा बढीमा खुम्चिएको देखिन्छ । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ९ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।

चालू आर्थिक वर्षभित्र कम्पनीले १७ करोड ६५ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।कम्पनीको पछिल्लो आर्थिक वर्ष ०७९÷८० को वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ७५ पैसा र प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा छ ।चालू आर्थिक वर्षभित्र कम्पनीको प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ ७८ पैसा र प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा कायम गर्ने प्रक्षेपण रहेको छ ।