काठमाडौँ । टीयू क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि बोलपत्र आह्वान भएको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आज अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि शुक्रवार बोलपत्र आह्वान गरेको हो ।
गत असार अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले कीर्तिपुर मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको थियो । जसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले क्यान सचिव पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।
बोलपत्र आह्वान भएपछि प्रधानमन्त्री ओलीले जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले समय लागेको बताएका छन् ।
'क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं। यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्का सहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्यौँ । त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनु भएको थियो । जग्गा प्राप्ति लगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचे भन्दा बढी समय लाग्यो। त्यसले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो । आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ,' उनले भनेका छन्, 'अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्ने छ। यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहने छ। काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई अनुरोध गर्छु।'