शीर्षकहरू

अमेरिका बस्ने नेपालीमध्ये ५६ प्रतिशतको घरजग्गामा लगानी

अमेरिका बस्ने नेपालीमध्ये ५६ प्रतिशतको घरजग्गामा लगानी

काठमाडौं । अमेरिकामा बस्ने अधिकांश नेपालीले नेपालको घरजग्गा क्षेत्रमा लगानी गरेको पाइएको छ । इन्स्टिच्यूट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडी (आईआईडीएस) ले गरेको अध्ययन प्रतिवेदनले ५५.६ प्रतिशतले घरजग्गामा लगानी गरेको देखाएको छ । त्यसबाहेक क्रमश: बैंक तथा वित्तीय क्षेत्र, ऊर्जा, यातायात, पर्यटन तथा होटल, शिक्षा, कृषि र प्रविधि क्षेत्रमा लगानी भएको देखिन्छ । केहीले दोहोरो क्षेत्रमा पनि लगानी गरेको आईआईडीएसको प्रतिवेदनले देखाएको छ ।

आईआईडीएसले ‘नेपाली माइग्रेन्ट ड्रिम्स इन द अमेरिकन ल्याण्डस्केप २०२४’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार ३५.२ प्रतिशतले बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । २०.४ प्रतिशतले जलविद्युत क्षेत्रमा लगानी गरेका छन् । ट्राभल, पर्यटन तथा होटल क्षेत्रमा ११.१ प्रतिशतले लगानी गरेका छन् । शिक्षामा ७.४ प्रतिशतले लगानी गरेका छन् । कृषिमा ७.४ प्रतिशतले लगानी गरेका छन् । आईसिटी तथा मिडियामा क्षेत्रमा ६.५ प्रतिशतले लगानी  गरेका छन् । उत्पादनमा ५.६ र अन्यक्षेत्रमा ७.४ प्रतिशतले लगानी गरेका छन् । 

तर, अमेरिकामा बस्ने नेपालीको लगानी काठमाडौंमा नै केन्द्रीत भएको अध्ययन प्रतिवेदनले देखाएको छ । 

त्यस्तै, अमेरिका भएका नेपालीले व्यक्तिगत र समूहगत रुपमा पनि नेपालमा लगानी गरेका छन् । तर, नेपालमा लगानी गर्न सहज वातावरण नभएको अध्ययन प्रतिवेदनले देखाएको छ । नेपालमा लगानी गर्न धेरै कारणले सुरक्षित छैन । अमेरिकामा कम्पनी दर्ता गर्नका लागि ५ देखि ७ मिनेट लाग्छ । तर, नेपालको सरकारी प्रक्रियाका कारण नेपालीहरू नेपालमा लगानी गर्न निरुत्साहीत हुने गरेको प्रतिवेदनले देखाएको छ ।  

प्रतिवेदनअनुसार १५ हजार अमेरिकी डलर भन्दा कम आम्दानी गर्नेले नेपालमा ९ प्रतिशत लगानी गरेका छन् । १५ हजार देखि ४५ हजार डलर आम्दानी गर्नेले १० प्रतिशतले लगानी गरेका छन् । ४५ हजार देखि ८० हजारसम्म लगानी गर्नेले १२.७ प्रतिशत लगानी गरेका छन् भने ८० हजार भन्दा माथि आम्दानी गर्नेले नेपालमा १७.७० प्रतिशत मात्रै लगानी गरेका छन् । 

अमेरिकाबाट एक वर्षमा भित्रियो एक खर्ब ७४ अर्ब
अमेरिकाबाट नेपालमा एकै वर्षमा एक खर्ब ७४ अर्ब २९ करोड (१.२८ बिलियन अमेरिकी डलर) रेमिट्यान्स नेपाल भित्रिएको आईआईडीएसको अध्ययन प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार सन् २०२३ मा अमेरिकाबाट सो रकम बराबर रेमिट्यान्स नेपाल भित्रिएको हो । यो रकम नेपालले  प्राप्त गर्नै रेमिट्यान्सको ११.६२ प्रतिशत हो । 

प्रतिवेदन अनुसार अमेरिकामा बस्ने नेपालीमध्ये ५९ प्रतिशतले रेमिट्यान्स पठाउँछन् भने ४० प्रतिशतले पठाउँदैनन् । अमेरिकाबाट प्राप्त हुने रेमिट्यान्स अन्य मुलुकको तुलनामा कम हो । नेपालमा भित्रने रेमिट्यान्समध्ये मलेसिया र खाडी मुलुकको हिस्सा बढी छ ।

अध्ययन प्रतिवेदन अनुसार अमेरिका बस्ने नेपालीमधये ५८.८ प्रतिशतले मनि ट्रान्सफरबाट रेमिट्यान्स पठाउने गरेका छन् । २९.३ प्रतिशत बैक ट्रान्सफर गर्छन् । ६.३ प्रतिशतले हुण्डी र ५.५ प्रतिशतले डेविट÷क्रेडिट कार्डबाट पठाउने गरेका छन् । 

अध्ययनले अमेरिकामा एक लाख ८५ हजार देखि दुई लाख १५ हजार नेपाली हुन सक्ने अनुमान गरेको छ ।  प्रतिवेदन  अनुसार ४९ प्रतिशत नेपाली सन् २०१० र २०१९ को बिचमा नै अमेरिका पुगेका थिए । २४.८ प्रतिशत  २००० देखि २००९ को बिचमा पुगेका छन् । स्न २०२० पछि ४.५ प्रतिशत, ४.५ प्रतिशत १९९० देखि १९९९ मा, २.८ प्रतिशत १९८० देखि १९८९ को बिच, ०.१ भने १९७० देखि १९७९ को बिचमा पुगेको अध्ययनमा उल्लेख छ । 

अमेरिकामा रहने नेपालीमध्ये ३४.७ प्रतिशतले टेक्नोलोजी क्षेत्रमा काम गर्छन् । १६.१ प्रतिशत स्वास्थ्य क्षेत्रमा, ८.४ प्रतिशत अन्य, ८.२ प्रतिशत फानाइन्स, ६.९ पतिशत शिक्षा, ६.८ प्रतिशत फुड एण्ड होटल क्षेत्र, ६.३ प्रतिशत कानुनी, पब्लिक क्षेत्रमा, ४.३ प्रतिशत वातावरण र कृषि क्षेत्रमा, ४.० प्रतिशत उपभोग्य क्षेत्रमा, १.८ प्रतिशत स्वरोजगार, १.३ प्रतिशत निर्माण र १.२ प्रतिशत क्रियटिभ क्षेत्रमा काम गर्छन् । 

अमेरिकाको टेक्सासमा १६.९५ प्रतिशत नेपाली बसोबास गर्छन्  । भर्जिनियामा १४.१८ प्रतिशत, क्यालिफोरर्नियामा ११.०९ प्रतिशत, मेरिल्याण्डमा ८.१७ प्रतिशत, न्यूयोर्कमा ५.५५ प्रतिशत, मासाच्यूटमा ३.५४ प्रतिशत, ओहायोमा ३.३९ प्रतिशत, बाशिङटनमा २.६२, नर्थ क्यारोलिनामा २.३२ प्रतिशत, पेन्सिलभेनियामा २ प्रतिशत छन् । 

डायस्पोरा अध्ययन २०२४ अनुसार अमेरिकामा पुरुषमा ६०.१३ प्रतिशत छन् भने महिला ३०.४ प्रतिशत र अन्य ०.४७ प्रतिशत छन् । अमेरिकका जनगणना २०२३ अनुसार ५२.५ प्रतिशत पुरुष र ४७.५ महिला छन् । 

त्यस्तै, अध्ययन अनुसार शिक्षाको अवसरका कारण धेरै नेपालीले नेपाल छोडेको पाईएको छ । ५२.०८ प्रतिशतले अमेरिका राम्रो शिक्षाको अवसरका पाएकोले नेपाल छोडेको बताउका छन् । ३८.०६ प्रतिशतले करिअर विकासका लागि, ३१.९ गुणस्तरीय जीवनका लागि २१.७३ ले राजनीतिक अवस्थाका कारण, २१.५७ रोजगारीको अवसरका लागि नेपाल छोडेको बताएका छन् । 

१९ प्रतिशतको चाहना – अवकाश जीवन नेपाल
अमेरिका बस्ने नेपालीमध्ये २० प्रतिशत नेपाली आफनो अवकाश जीवन नेपालमा नै फर्कन चाहेको पाइएको छ । आईआईडीएसको अध्ययन प्रतिवेदन अनुसार अध्ययन र आम्दानीका लागि अमेरिका बसे पनि अवकाश पछि नेपालमा नै फर्कन चाहेको पाईएको छ । 

त्यस्तै, २७ प्रतिशत नेपाली भने आफनो परिवार र साथीभाइको कारण नेपाल फर्कन चाहन्छन् । ५.५९ प्रतिशत नेपाली नेपालमा नै जागिरको अवसर भएका कारण नेपाल फर्कन चाहन्छन् । १ प्रतिशत जति कानुनी कारण नेपाल फर्कन चाहन्छन् । ८.३८ प्रतिशत नेपाली अन्य कारण नेपाल फर्कन चाहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

अमेरिकामा बस्ने नेपालीमध्ये ४८.८४ प्रतिशत नेपाली नेपालमा रहेका आफ्ना नेपालीसँग दैनिक सम्पर्कमा हुने गरेको पाइएको छ । ३०.६२ प्रतिशत हप्तामा एक पटक भन्दा बढी सम्पर्कमा हुन्छन् । १२ प्रतिशतले हप्तामा एक पटक सम्पर्कमा हुन्छन् । ३.३९ प्रतिशत दुई हप्तामा एक पटक सम्पर्कमा हुन्छन् । ४.७५ प्रतिशत भने महिनामा एक पटक सम्पर्कमा हुन्छन् ।