काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले स्थापनाको २५ औं वार्षिकोत्सव भव्य रूपमा मनाउने भएको छ । इप्पानले बिहीबार ‘इप्पान रजत जयन्ती, २०८१’ बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्दै विशेष कार्यक्रम माघ ४ गते काठमाडौंको मेरियट होटलमा आयोजना हुने जनाएको हो ।
‘लिडिङ इनर्जी टुवर्ड्स प्रोस्पेरिटी’ नारासहित हुने उक्त कार्यक्रममा इप्पानले विगत २५ वर्षमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्दै आगामी योजनाबारे चर्चा गर्ने इप्पानले जनाएको छ । देशको ऊर्जा र आर्थिक विकासमा इप्पानले पछिल्लो २५ वर्षमा १५ खर्बभन्दा बढी लगानी गरेको जनाएको छ । इप्पानले देशको ३३ सय मेगावाट जडित विद्युत् क्षमतामध्ये निजी क्षेत्रले ८० प्रतिशत अर्थात् २६०० मेगावाट उत्पादन गरिरहेको छ । ४१ सय मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने १२ हजार पाँचसय मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौताका लागि पर्खाइमा छन् ।
रजत जयन्ती समारोहलाई विशेष बनाउन इप्पानले ऊर्जा क्षेत्रमा भएका चुनौती, अवसर र सम्भावनाबारे छलफल गर्न तीनवटा प्राविधिक सत्र संचालन गर्ने जनाएको छ । त्यसैगरी ‘ऊर्जा समृद्धि’ नामक विशेष स्मारिका प्रकाशित हुनेछ ।
अतिरिक्त क्रियाकलापअन्तर्गत फुटसल, ब्याडमिन्टन प्रतियोगिता, रक्तदान, ईभी र्याली, निबन्ध लेखन, वृत्तचित्र निर्माण र फोटो प्रतियोगिता हुनेछन् ।
प्रतियोगितामा फुटसल र ब्याडमिन्टन विजेतालाई क्रमशः ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ । निबन्ध लेखनका लागि पहिलो, दोस्रो, र तेस्रो स्थानले ५०, २५, र १५ हजार रुपैयाँ र वृत्तचित्र र फोटो प्रतियोगिताका विजेतालाई पनि ३०, २०, र १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ।
समारोहमा प्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री लगायतका उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ ।