त्रिशूली । मुलुकमा चलेको सशस्त्र द्वन्द्वको समयमा ध्वस्त पारिएको प्रहरी चौकी देउरालीको नयाँ भवनको पुनर्निर्माण गरिएको छ ।
विसं २०५४ मा तत्कालीन समयमा नेकपा (माओवादी)को आगजनीबाट ध्वस्त बनेको प्रहरी चौकी देउरालीको २७ वर्षपछि पुनर्निर्माण गरिएको भवनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बुधबार उद्घाटन गरे।
प्रहरी चौकीको नयाँ भवन निर्माणसँगै जनताको शान्तिसुरक्षा, अन्याय र पीडित भएकाले पाउने न्यायसहित राज्यको उपस्थिति जनताको घरदैलोसम्म पुर्याउन थप मद्दत पुगेको मुख्यमन्त्री तामाङको भनाइ छ । प्रदेश सरकारले प्रहरी एकाइसहित सरकारी सेवासँग सम्बन्धित संरचनाको निर्माणका गतिविधिलाई अघि बढाउँदै भौतिक संरचनाको विकासमा लगानी गर्ने उनले प्रतिबद्धता जनाए ।
प्रहरी चौकीसहित तत्कालीन समयमा ध्वस्त बनाइएको गाविसको भवन अहिले पालिकाका रुपमा स्थापना भए पनि नेपाल विद्युत् प्राधिकरण र कृषि विकास सेवा केन्द्र भने अझै अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भइरहेको म्यागङका अध्यक्ष आशा तामाङले गुनासो गरे ।
द्वन्द्वका समयमा क्षति पुगेका तथा राज्यको सेवा प्रवाह सहज बनाउन माग आएका र आवश्यकता महसुस भएका स्थानमा प्रहरी एकाइको कार्यालय पुनर्निर्माण तथा नयाँ निर्माणलाई प्राथमिकता दिइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरी शर्माले जानकारी दिए ।
उनका अनुसार राज्य पुनःसंरचनापश्चात् बागमती प्रदेश सरकारमार्फत ७५ स्थानमा नयाँ प्रहरी एकाइका लागि भवन निर्माण सुरु गरेकामा हालसम्म ६७ स्थानमा सम्पन्न भइसकेको र बाँकीको निर्माण तीव्र गतिमा भइरहेको छ । उक्त भवन निर्माणका लागि स्थानीय सर्वजित तामाङ र रामबहादुर तामाङले आवश्यक जग्गा निःशुल्क उपलब्ध गराएकाले कार्यक्रममा मुख्यमन्त्री तामाङबाट जग्गादाताद्वयलाई दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरिएको थियो ।
म्यागङ–३ स्थित देउरालीमा पुनर्निर्माण गरिएको प्रहरी चौकीको भवन विसं २०७८ चैतमा सम्झौता गरेर दुई चरणमा निर्माण पूरा गरिएको प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक इन्जििनियर शम्भुप्रसाद कोइरीले जानकारी दिए । उक्त भवन निर्माणमा रु एक करोड ४० लाख खर्च भएको छ । प्रहरी चौकीमा इलाका प्रहरी कार्यालयको स्तरोन्नतीको लक्ष्यसहित आवश्यक भौतिक संरचनाको पुनर्निर्माण गरिएको छ । -रासस