शीर्षकहरू

रविको भन्दै भाइरल फोटोको वास्तविकता के हो?

रविको भन्दै भाइरल फोटोको वास्तविकता के हो?

काठमाडौँ । एउटा कोठा । कोठाको कुनामा सानो खाट । खाटमा टोपी लगाएका व्यक्ति सिरक ‌ओढेर सुतिरहेका । छेउको टेबलमा ऊर्दूसहित केही किताब, पानीको बोतललगायत सरजामहरू ।

यतिबेला सामाजिक सञ्जालमा भाइरल फोटोको विवरण हो यो । जसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले हिरासतमा रहेका रवि लामिछानेको फोटो भएको दाबी गर्दै आएका छन् । रास्वपाका नेता दीपक बोहराले पनि उक्त तस्बिर फेसबुकमा राखेर आपत्ति जनाएका छन् ।

रास्वपाका कार्यकर्ता निकोलस भुसालले सामाजिक सञ्जालमा उक्त फोटो आफैले खिचेको र वास्तविक भएको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘यो फोटो रियल हो मैले नै खिचेको हो ।’

तर उनको दाबीलाई धेरैले पत्याएका छैनन् । उक्त फोटो फेक भएको कतिपयको दाबी छ । तर उक्त फोटोले सामाजिक सञ्जालमा ठूलो बहस नै निम्त्याएपछि यतिबेला प्रहरी उक्त फोटोको यथार्थ के हो भन्ने अनुसन्धानमा जुटेको छ ।

कसैको अनुमतिबिना फोटो खिच्न तथा सार्वजनिक गर्न नपाइने भन्दै रास्वपा समर्थकहरूले प्रहरी प्रशासनको विरोध गरिरहेको बेला कतिले भने हिरासतमा छुट्टै विशेष व्यवस्था गरेको भन्दै आलोचना पनि जनाएका छन् ।

तर यस फोटोको यथार्थ के हो भन्नेबारे प्रहरीले भने केही बताएको छैन । यस विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त शर्माले भने, 'फोटोको वास्तविकता र खिच्ने तथा पोस्ट गर्ने मान्छेको खोजी भैरहेको छ ।'

उनले फोटो खिच्ने र सार्वजनिक गर्ने व्यक्ति पहिचान गरेपछि प्रचलित कानुनअनुसार कारबाही अघि बढ्ने बताए ।