शीर्षकहरू

१४९ देशमा नेपाली श्रमिक : घरेलु श्रमिकदेखि युद्धग्रस्त मुलुकको सेनासम्म

अधिकांश नेपाली श्रमिक खाडी र मलेसियामा

१४९ देशमा नेपाली श्रमिक : घरेलु श्रमिकदेखि युद्धग्रस्त मुलुकको सेनासम्म

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा नेपाली युवाहरू विश्वका १४९ मुलुकमा पुगेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार २९७ नेपालीले संस्थागत र व्यक्तिगत रूपमा १४९ देशमा रोजगारीका लागि जान वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । उनीहरूमध्ये ६ लाख ६१ हजार १२५ पुरुष र ८० हजार १७२ महिला छन् ।

सरकारले भने वैदेशिक रोजगारीका लागि संस्थागत रूपमा १११ र व्यक्तिगत रूपमा १७८ देशमा जान सकिने व्यवस्था गरेको छ । नेपाली श्रमिक द्वन्द्वग्रस्त रुस, युक्रेनदेखि आन्तरिक युद्धले ग्रसित सिरिया, सोमालिया, सुडानलगायत देशमा पनि पुगेका छन् । रोजगारीका लागि सरकारले धेरै मुलुक खुला गरे पनि हालसम्म ११ मुलुकसँग मात्रै श्रम सम्झौता गरेको छ । 

सुरक्षाको दृष्टिकोणले अत्यन्तै जोखिम मानिएका देशमा पनि नेपाली श्रमिक श्रम स्वीकृति लिएरै गएको तथ्यांकले देखाउँछ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विभागबाट श्रम स्वीकृति लिएर २४ नेपाली युवा युगान्डा पुगेका छन् । त्यस्तै, ४ जनाले रुवान्डाका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ । घानाका लागि १७, माली ११, सोमालिया २३, साउथ अफ्रिका १५, रसिया ४७६, इथियोपियाका लागि २ नेपालीले श्रम स्वीकृति लिएका छन् । यीबाहेक अवैधानिक प्रक्रियामार्फत चरम द्वन्द्वमा परेको युक्रेनजस्तो मुलुकमा समेत नेपाली पुगेका छन् । तर, यसको आधिकारिक तथ्यांक भने सरकारसँग छैन । 

सरकारले श्रम स्वीकृतिका लागि रोक लगाए पनि जोखिमपूर्ण मुलुकमा नेपाली युवा पुगेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष मेघनाथ भुर्तेल स्वीकार्छन् । ‘सरकारले रोक लगाएका मुलुकमा व्यवसायीमार्फत नगए पनि व्यक्तिगत पहुँचका आधारमा नेपाली युवा धेरै मुलुक पुगेका छन् । यस्ता मुलुक भए पनि नेपाली युवा भने रोजगारीका लागि पुगेको छन्,’ उनले भने । केही मुलुकमा त व्यवसायको सिलसिलामा वा व्यक्तिगत कामका कारण नेपाली युवा पुगेका हुन सक्ने उनको अनुमान छ । 

संघका उपाध्यक्ष भुर्तेल नेपाली श्रमिकका लागि कोरिया, जापान, साइप्रस, रोमानिया, इजरायल, क्रोसिया, क्यानडा, अमेरिकालगायतका मुलुक उपयुक्त भएको बताउँछन् । यि मुलुकमा श्रम कानुन पनि राम्रो छ र आप्रवासी कामदारलाई गर्ने भुक्तानी पनि राम्रो छ । निर्माण र कृषि क्षेत्रमा यी देशले आप्रवासी लैजाने गरेका छन् । तर, नेपाल सरकारले यी देशहरूसँग श्रम सम्झौता गरेको छैन । न त यि मुलुकमा नेपाली दूतावास नै छ ।

पछिल्लो पटक सरकारले रोमानिया र जर्मन सरकारसँग श्रम सम्झौता गरेको छ । तर, सरकारले सहजीकरण गर्न नसक्दा नेपाली श्रमिकले लाभ लिन सकेका छैनन् । युकेसँग पनि सरकारले नेपाली नर्स पठाउनेगरी सम्झौता गरेको थियो । तर, उपलब्धि भने हुन सकेन । 

श्रम सम्झौता गरिएका मुलुकमध्ये कतार, मलेसियामा पनि नेपाली श्रमिकका लागि राम्रो छ ।  पछिल्लो समय कतार सरकारले आप्रवासी श्रमिकका लागि उद्धार नीति अपनाएको छ । त्यस्तै, मलेसियामा धेरै बहुराष्ट्रिय कम्पनीहरू छन् । त्यसैले यहाँको भुक्तानी राम्रो भएको उपाध्यक्ष भुर्तेलले बताए । दक्ष श्रमिकका लागि मलेसियासँगै खाडीका सबै मु्लुक राम्रो रहेको उनले बताए । ‘यी मुलुकले श्रमिकलाई कम भुक्तानी गरे पनि दक्ष आप्रवासी श्रमिकको लागि भने धेरै राम्रो सेवा सुविधा र पारिश्रमिक दिने गरेका छन्,’ उनले भने ।

अधिकांश नेपाली श्रमिक खाडी र मलेसियामा
वैदेशिक रोजगारीमा गएका नेपाली युवामध्ये ६५ प्रतिशत युवा खाडीका विभिन्न मुलुक र मलेसियामा गएका छन् । वैदेशिक रोजगार विभागको विगत १० वर्षको तथ्यांकअनुसार खाडी र मलेसियामा मात्रै ३५ लाख २३ हजार दुई सय ४९ नेपाली युवा गए । सो अवधिमा ५४ लाख ९२ हजार चार सय चार नेपाली युवा रोजगारीका लागि विदेसिएका छन् । 

खाडीमध्ये कतारमा सबैभन्दा धेरै श्रमिक पुगेको देखिन्छ । विभागको तथ्यांकअनुसार १० वर्षको अवधिमा श्रम स्वीकृति लिएर नौ लाख ४१ हजार आठ सय ९७ श्रमिक कतार पुगेका छन् । त्यस्तै, सात लाख ७९ हजार आठ सय ९८ नेपाली युवा श्रमिक साउदी अरेबिया पुगेका छन् । सोही अवधिमा युनाइटेड अरब इमिरेट्स जानेको संख्या भने पाँच लाख ७५ हजार दुई सय चार छ । एक लाख ४९ हजार ६ सय २४ जना कुवेत पुगेका छन् । ४६ हजार आठ सय ५८ जना ओमान पुगेको तथ्यांकले देखाएको छ । त्यस्तै, नौ लाख ९९ हजार ६ सय ८२ जना नेपाली युवा रोजगारीकै लागि मलेसिया पुगेको तथ्यांक छ । 

खाडी र मलेसिया नेपाली युवाको मुख्य श्रम गन्तव्यका रूपमा मानिन्छ । यसका साथै कोरिया र इजरायलमा भने सरकारले आफैँले नेपाली युवा श्रमिक पठाउने गरेको छ । इपिएसका माध्यमबाट कोरिया र केयर गिभरका लागि सरकारले आफूले इजरायल पठाउँदै आएको छ । 

तर, पछिल्लो समयमा खाडी र मलेसियाबाट रोजगारी युरोपतर्फ मोडिएको छ । युरोपियन मुलुकहरूले पनि आप्रवासी कामदारको माग गर्न थालेपछि नेपाली युवाको श्रम गन्तव्य मोडिएको हो । तर, युरोप जाने अधिकांश युवा भने अवैधानिक प्रक्रियामार्फत जाने गरेका छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार क्रोएसिया, रोमानिया, साइप्रस, बेलायत, माल्टा र पोल्याण्ड जाने नेपाली श्रमिकको संख्या बढेको छ । तथ्यांक अनुसार विगत पाँच वर्षको अवधिमा क्रोएसिया, रोमानिया, साइप्रस, बेलायत, माल्टा र पोल्याण्ड मुलकमा जान लागि एक लाख २४ हजार ५६० जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । आव २०६७/७७ देखि गत आवमा यी मुलुक जानका लागि श्रम स्वीकृति लिनेको संख्या करिव ७ गुणाले बढेको छ । 

गत आर्थिक वर्ष २०८०/८१ मा ४७ हजार ५१६ जनाले श्रम स्वीकृति लिएका छन् । आव २०७९/८० मा ४० हजार ६७० जनाले श्रम स्वीकृति लिएका छन् । आव २०७८/७९ मा २३ हजार ५८४, आव २०७७/७८ मा ५ हजार ७५८ र आव २०६७/७७ मा जम्मा ७ हजार ५ जनाले श्रम स्वीकृति लिएका थिए । विभागबाट श्रम स्वीकृति लिएर भन्दा पनि विद्यार्थी भिसा र भिजिट भिसामा जानेको संख्या झनै बढी भएको विभिन्न तथ्यांकले देखाएको छ । त्यस्तै, अहिले खाडीका विभिन्न मुलुक कतार, साउदी र युएई हुँदै युरोपका विभिन्न मुलुक जाने नेपाली संख्या बढ्न थालेको छ ।

विगत पाँच वर्षको अवधिमा रोमानिया जानका लागि ४० हजार ८४८ जनाले श्रम स्वीकृति लिएका छन् । गत आव मात्रै रोमानिया जानका लागि १५ हजार २१ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । आव २०७९/८० मा १४ हजार २२५ जनाले श्रम स्वीकृति लिए । आव २०७८/७९ मा सात हजार ४७५ जनाले श्रम स्वीकृति लिएका छन् । आव २०७७/७८ मा दुई हजार ९९ र आव २०७६/७७ मा दुई हजार २८ जनाले श्रम स्वीकृति लिएका छन् ।

रोमानियापछि क्रोएसिया जानेको संख्या अधिक छ । विभागको तथ्यांक अनुसार विगत पाँच वर्षमा २९ हजार ८९७ जनाले रोमानिया जानका लागि श्रम स्वीकृति लिएका छन् । गत आव २०८०/८१ मा १५ हजार ३६४ जनाले श्रम स्वीकृती लिएका छन् । आव २०७९/८० मा सात हजार ४४१ जनाले श्रम स्वीकृति लिए । त्यस्तै, आव २०७८/७९ मा पाँच हजार ३४४, आव २०७७/७८ मा एक हजार ९४, आव २०७६/७७ मा ६४६ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् । त्यस्तै, १९ हजार ६९८ जनाले साइप्रस जानका लागि श्रम स्वीकृति लिएका छन् भने माल्टा जानका लागि १६ हजार ५१, पोल्याण्ड जानका लागि १० हजार ८९ र बेलायत जानका लागि ७  हजार ७७ जनाले श्रम स्वीकृति लिएका छन् । 

सुडानदेखि रसियाको युद्ध मैदानमा पुग्छन् नेपाली 
रोजगारीका लागि नेपाली श्रमिकहरू अफ्रिका, सुडानदेखि युद्धग्रस्त रसिया र युक्रेनका युद्ध मैदानमा समेत पुगेका छन् । अफ्रिकामा व्यवसाय गर्दै आएका रामप्रसाद पाध्यायकाअनुसार सुडान, कंगो, लिबिया, नैरोबी, तान्जानिया, रुवान्डा, युगाण्डालगायतका मुलुकका बैंक, सेक्युरिटी, रेष्टुरेन्टलगायका क्षेत्रमा पनि नेपाली श्रमिक रहेका छन् । नेपाली महिला श्रमिक अवैध बाटो हुँदै अफ्रिकी देशहरू पुग्ने गरेको उनले बताए । उनीहरूलाई डान्सबार तथा रेष्टुरेन्टहरूमा काममा लगाईने गरिएको पाध्यायले बताए । ‘अफ्रिका आफैमा द्वन्द्वग्रस्त  हो । त्यसैले यहाँ श्रमिकको अभाव छ । त्यसैले दक्ष नेपाली श्रमिक मात्रै यहाँ आउँछन्,’ उनले भने । कतिपय नेपालीले अफ्रिकामा नै व्यवसाय गर्ने गरेको उनले बताए  । 

सरकारले नेपाली श्रमिकलाई इराक जान बन्देज लगाएको छ । तर, अवैधानिक बाटो हुँदै इराक पुगेका नेपाली श्रमिकको संख्या पनि धेरै छ । इराकमा अहिले करिब २० हजार नेपाली रहेको गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष विनोद श्रेष्ठले बताए । जसमध्ये ७५ प्रतिशत इराकको कुर्दिस्तान राज्यमा छन् । घरेलु कामदारदेखि व्यवस्थापकीय तहसम्मको काममा नेपाली कामदार रहेको उनले बताए । 

त्यस्तै, युद्धग्रस्त रुस–युक्रेनका युद्ध मैदानमा पनि नेपाली युवा रोजगारीका लागि लडी रहेका छन् । गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष केशव तिमिल्सिनाका अनुसार हाल रुसमा अनुमानित २० हजार नेपाली छन् । नेपालीहरू श्रम, अध्ययन र व्यवसायका लागि रुस जान्छन् । पछिल्लो समय त युद्ध मैदानमा होमिनका लागि पनि जान थालेका छन् । आकर्षक तलब र त्यहाँको नागरिकता पाइने आसमा नेपाली युवा रुसी सेनामा होमिने क्रम बढेको छ । 

युक्रेनमा युद्ध सुरु हुनुभन्दा अघि अनुमानित ६ हजार नेपाली थिए । युद्धका वेला उनीहरू युरोपका विभिन्न मुलुक गएको गैरआवासीय नेपाली संघ रसियाका अध्यक्ष तिमिल्सिनाले बताए । उनका अनुसार हाल युक्रेनमै बिहेवारी गरेर बसेका दुई सय नेपाली रहेको अनुमान छ ।