शीर्षकहरू

पाँचथर पावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

पाँचथर पावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौँ । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ९६ लाख २५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी कम्पनीले गरेको छ । कम्पनीले आयोजना निर्माण तथा मर्मतका लागि लिइएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको जानकारी दिएको छ ।

यस कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । गत असार २ गते आएको अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले आयोजनालाई क्षति पुर्‍याएको र सोको मर्मतका लागि थप कर्जा लिनुपरेको भनाई कम्पनीको छ । आयोजना पुनः सञ्चालनमा ल्याउन हाल आयोजनाको पुनः निर्माण कार्य भैरहेको छ ।

प्रस्तावित हकप्रद शेयर कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र निष्काशन प्रक्रियामा जानेछ ।