काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि विक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत दरलेले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको हो । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा बाँडफाँटपछि सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्कासन हुनेछ । कुल कित्ता आईपीओमध्ये पनि ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशतलेहुन आउने १ लाख १२ हजार ५०० कित्ता भने सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट भएमा सर्वसाधारणका लागि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासनमा आउनेछ । न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । वैदेशकि रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुसँगै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
यो कम्पनी नेपालको पहिलो डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघुबीमा कम्पनी हो । अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । हाल संस्थापक तर्फ चुक्ता भएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको हो ।
सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम हुनेछ । गत आर्थिक वर्ष ०८०÷८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफामा रहेको छ । वास्तविक वित्तीय विवरण अघिल्लो आर्थिक वर्ष ०७९÷८० सम्म भने कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ३४ पैसा छ ।