काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । यसदिन ५१.३७ अंकले घटेर दुई हजार ६३०.९१ बिन्दुमा बजार बन्द भएको छ ।
गत साता ५२.६३ अंकले बजार घटेको थियो । गत साता आइतबार नेप्से परिसूचक ४५.९३, सोमबार १२.८४, मंगलबार ६.३२ र बिहीबार ३३.४२ ले बजार घटेकोमा बुधबार भने ४५.८८ अंकले बजार बढेको थियो । आइतबार बिदापछि आज खुलेको शेयर बजार ओरालो लागेको हो ।
यसदिन १३ वटै उपसमूहको शेयर घटेको छ भने कारोबारमा आएका २४४ मध्ये २२७ कम्पनीले घाटा बेहोरेका छन् । बाँकी १५ कम्पनीको मात्रै शेयर बढेकोमा २ को स्थिर छ ।
आज कारोबार रकम पनि न्युन रहेको छ । सोमबार ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर खरिदबिक्री भएको छ ।