ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक तीव्र रूपमा स्तरोन्नति भइरहेको छ। लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँलाई जोड्ने सडक २१ वर्षपछि स्तरोन्नतिको चरणमा प्रवेश गरेको हो।
काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार संघीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नतिको काम थालिएको भए पनि पूर्णता पाउन सकेको थिएन। आर्थिक वर्ष २०८०/८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा–भुदीखोला खण्डको स्तरोन्नति सम्पन्न भएको छ भने यस वर्ष दोस्रो खण्डको काम तीव्र गतिमा अघि बढिरहेको छ।
चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको ३.५ किलोमिटर ग्राभेलिङ गरिने योजना रहेको छ। यसका लागि रु पाँच करोड विनियोजन गरिएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको थप रु ५० लाखले तेस्रो खण्डअन्तर्गत पैराखर्क–शिवालय–पिपलथर–करलिम खण्डको स्तरोन्नतिको काम पनि यसै आर्थिक वर्षमा सम्पन्न गरिने योजना रहेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो।