काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ) ले जारी गर्ने ट्रेजरी बिल तथा विकास ऋणपत्रमा तीन गुणाभन्दा धेरै आवेदन पर्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अधिक भएपछि विकास ऋणपत्र र ट्रेजरी बिलमा आवेदन धेरै पर्न थालेको हो ।
पीडीएमओले चालु आर्थिक वर्ष २०८१/८२ मा ११ पटकसम्म विकास ऋणपत्र जारी गरेको छ । यो अवधिमा पीडीएमओले एक अर्ब ९ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गरेको छ । तर, बैंक तथा वित्तीय संस्थाले भने दुई खर्ब ९५ अर्ब रुपैयाँका लागि आवेदन दिएको पीडीएमओको तथ्यांक छ । पीडीएमओले हालसम्म औसत ४.७१ प्रतिशतमा ऋणपत्र निष्काशन गर्दै आएको छ ।
पछिल्लो समय विकास ऋणपत्र र ट्रेजरी बिलका लागि बैंक तथा वित्तीय संस्थाले दिने आवेदन ह्वातै बढेको पीडीएमओका उपनिर्देशक प्रकाश पुडासैनीले बताए । ‘बैकिङ्ग प्रणालीमा तलरता अधिक भएर होला हामीले निष्काशन गरेभन्दा तीन गुणा धेरैले आवेदन पर्ने गरेको छ,’ उनले भने ।
पीडीएमओले हालसम्म निष्काशन गरेको विकास ऋणपत्रमा प्रतिस्पर्धी लागि तीन खर्ब १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । प्रतिस्पर्धीअन्तर्गत बैंक तथा वित्तीय संस्थाले रकम र ब्याजदरमा प्रतिस्पर्धा गर्छन् । त्यस्तै, अप्रतिस्पर्धीमा चार अर्ब ९१ करोड रुपैयाँको आवेदन परेको थियो । प्रतिस्पर्धीबाट बाँकी रहेको रकम र तोकिएको ब्याजदरमा अप्रतिस्पर्धीमा आवेदन दिने बैक तथा वित्तीय संस्थाले ऋणपत्र खरिद गर्नुपर्नेछ ।
ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धीमा आवेदन दिन सकिन्छ । ८५ प्रतिशत प्रतिस्पर्धीका लागि छुट्याइएको हुन्छ भने १५ प्रतिशत प्रतिस्पर्धीका लागि छुट्याईएको हुन्छ ।
कम्पिटेटिभमा आवेदन दिएकामध्ये ९९ अर्ब ७४ ले ऋणपत्र प्राप्त गरेका छन् भने ननकम्टिेटभिमा आवेदन दिएकामध्ये चार अर्ब ९१ करोड रुपैयाँ बराबरको ऋणपत्र प्राप्त गरेका थिए ।
पीडीएमओले गत मंसिर १२ गते एक अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गरेको थियो । जसमा बैक तथा वित्तीय संस्थाले ३२ अर्ब ६७ करोड रुपैयाँको आवेदन दिएका थिए । तीन वर्षे सो ऋणपत्रका लागि पीडीएमओले ३.७ प्रतिशत ब्याजदर तोकको थियो । ऋणपत्रका लागि १९ वटा वित्तीय संस्थाले ६६ वटा आवेदन दिएका थिए ।
त्यस्तै, पीडीएमओले कार्तिक २८ गते पनि एक अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गरेको थियो । जसका लागि बैक तथा वित्तीय संस्थाले ३२ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए । ६ बर्षे सो ऋणपत्रका लागि पीडीएमओले ४.१८ प्रतिशत ब्याजदर तोकेको थियो । ऋणपत्रका लागि १९ वटा संस्थाले ६४ वटा आवेदन दिएका थिए ।
कात्तिक ७ गते पीडीएमओले नौ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेको थियो । जसमा २८ अर्ब ७५ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । ९ वर्षे सो ऋणपत्रका लागि पीडीएमओले ४.३४ प्रतिशत ब्याजदर तोकेको थियो । सो ऋणपत्रका लागि १८ वटा संस्थाले ६९ वटा आवेदन दिएका थिए ।
गत असोज ९ गते पीडीएमओेले १० अर्बको विकास ऋणपत्र निष्काशन गरेको थियो । जसमा २६ अर्ब ५० करोड रुपैयाँको आवेदन परेको थियो । ६ वर्षे सो ऋणपत्रका लागि पीडीएमओले ४.२७ प्रतिशत ब्याजदर तोकेको थियो । जसमा १५ वटा संस्थाले ४१ वटा आवेदन दिएका थिए ।
ट्रेजरी बिलमा पाँच गुणा बढी आवेदन
सार्वजनिक ऋण व्यवस्थापन कार्यलय (पीडीएमओ) ले निष्काशन गरेको ट्रेजरी बिलमा पाँच गुणा भन्दा धेरैले आवेदन पर्ने गरेको छ । पीडीएमओले गत साउन यता ६२ पटकमा बिल निष्काशन गरेको छ । प्रत्येक पटक निष्काशन गरिए भन्दा बढी आवेदन पर्ने गरेको कार्यालयले जनाएको छ । ट्रेजरी बिलका लागि परेको आवेदनलाई प्रतिस्पर्धाका आधारमा पिडिएओले बाँडफाँड गर्दै आएको छ ।
गत साउन १ गते पीडीएमओले १० अर्बको ट्रेजरी बिल निष्काशन गरेको थियो । यो ट्रेजरी नविकरणीय थियो । २८ दिने सो ट्रेजरीका लागि ५२ अर्ब ६ करोड रुपैयाँको आवेदन परेको थियो । सोही दिन ९१ दिने सात अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गरिएको थियो । जसमा ५३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो । साउनमा तेस्रो पटक ८ गते १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन भएको थियो । ९१ दिने नविकरणीय सो ट्रेजरीमा ९१ अर्ब ४० करोडको आवेदन परेको थियो ।
मंसिर १६ गते पाँच अर्बको ट्रेजरी बिल निष्काशन गरेको थियो । जसमा २५ अर्ब ३४ करोड रुपैयाँको लागि आवेदन परेको थियो । एक वर्षको लागि निष्काशन गरिएको सो ट्रेजरी बिलमा १६ वटा बैंक तथा वित्तीय संस्थाको २८ वटा आवेदन परेको थियो ।
सरकारले प्रत्येक वर्ष निश्चित रकम सार्वजनिक ऋण संकलन गर्छ । सार्वजनिक ऋण दुई खालका हुन्छन् । एउटा बाह्य र अर्को भनेको आन्तरिक ऋण हो । बाह्य ऋण भनेको सरकारले विभिन्न निकाय तथा मुलुकबाट लिने बहुपक्षिय र दुईक्षीय ऋण हो । त्यस्तै, सरकारले विभिन्न खालका वित्तीय उपकरण जारी गरी आन्तरिक ऋण संकलन गर्छ । ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्र जारी गरी सरकारले ऋण संकलन गर्छ ।
ट्रेजरी बिल छोटो अवधिको लागि हुन्छ । एक वर्षका लागि यस्तो बिल जारी सरकारले ऋण संकलन गर्छ । विकास ऋणपत्र लामो अवधिका लागि हुन्छ । यस्तो खालको ऋणपत्रका लागि बैक तथा वित्तीय संस्थाले मात्रै आवेदन दिन पाउँछन् । नागरिक बचतपत्रका लागि नेपाली नागरिक तथा गैरआवासीय नेपालीले आवेदन दिन पाउँछन् भने सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दे आएको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र ५ देखि १२ वर्षसम्मको लागि हुन्छन् ।
सरकारले जारी गर्ने ट्रेजरी बिल र विकास ऋणपत्रका लागि निश्चित तालिका नै तोकिएको हुन्छ । प्रत्येक वर्षको साउन १५ सम्ममा वर्षमा ऋणपत्र जारी गर्ने मिति नै गरिएको हुन्छ । सोही बमोजिम पीडीएमओ कार्यलयले ऋणपत्र जारी गर्छ । पीडीएमओले एक दिनको अवधिमा ऋणपत्र जारी गर्छ । इच्छुक बैक तथा वित्तीय संस्थाले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । भोलिपल्ट विहान १० देखि २ बजेसम्ममा पीडीएमओले ऋणपत्र बाँडफाँड गर्छ ।