शीर्षकहरू

एनपीएलले चम्कियो खुद्रा व्यापार

एनपीएलले चम्कियो खुद्रा व्यापार

काठमाडौं । विश्वमै खेलकुदलाई आर्थिक वृद्धि र पर्यटन विकासको ठूलो माध्यमको रूपमा हेर्ने गरिन्छ । छिमेकी देश भारतमा हुने आईपीएल नेपालका लागि झन बलियो उदाहरण हो । मुलुकको अर्थतन्त्रमा खेलकुद प्रतियोगिताहरुको ठूलो प्रभाव रहने गरेको पाइन्छ ।

कीर्तिपुरको टियू खेल मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)मा ठूला व्यापारिक घराना र वित्तिय संस्थाहरुले ठूलो लगानी गरिरहेका छन् । विज्ञापन बजार चम्किएको छ । त्यसै खेल मैदान परिसरमा फुटपात र चिया नास्ताको व्यापारले सामान्य नागरिकहरुको व्यापार उसैगरी मौलाएको छ ।

मंसिर १६ बाट सुरु भएको एनपीएलले साना तथा मझौला व्यवसायीहरुलाई राहत मिलेको छ । एनपीएलले भरिएको टीयू क्रिकेट मैदानमा मानिसहरुको ध्यान त्यहाँ संचालन भएका खुद्रा पसलले उसैगरी खिचेको छ । क्रिकेट मैदान परिसरमा एनपीएल सुरु भएकै दिनदेखि चिया–चुरोट, चाउमिन–मःम, मिठाइ, विस्कुट, चाउचाउ, पानी, जुुुुुुसलगायतका खुद्रा पसलहरुमा व्यापार मौलाएको छ । 

अघिपछि ग्राहक नपाएरमा सडक पेटीमा घण्टौं प्रतीक्षा गर्ने सबै फुटपाथ व्यापारीहरु अहिले क्रिकेट मैदानमा भेटिने गरेका छन् । उनीहरुलाई भ्याइनभ्याई छ । उपभोक्ताहरुको थामिनसक्नु भीड छ । जाडो याम समेत भएकाले चिया, चुरोट र तातो खाजाको व्यापार खुबै चम्किएको छ । 

क्रिकेट मैदान परिसरमा मःम बेच्दै आएका दुर्गा सापकोटा कोभिडले थलिएको व्यापारलाई राहत पुगेको बताउँछन । उनी भन्छन्, ‘एनपीएलबाट एकदम खुसी छु । विदेशी खेलाडीहरु पनि हुनुहुन्छ । अपेक्षा अनुसारकै व्यापार भइरहेको छ । मान्छेहरुको भीड दिनहुँ बढिरहेको छ । कोरानाले आपत परेका होटल व्यवसायीहरुलाई यहाँ व्यापार गर्न दिनु नै ठुलो कुरा हो । राहत मिलेको छ,’ उनले भने । सापकोटाले दैनिक सरदरमा एक सय पचासदेखि दुईसय प्लेटसम्म मःम बेचिरहेका छन् । 

क्रिकेट मैदानमै मट्का चिया बेचिरहेका छन, कक्षा १२ मा पढ्ने भक्तिराज गिरी । गिरीले दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको मट्का चिया बेचिरहेका छन । उनी भन्छन्, ‘बिहानदेखि साँझसम्म राम्रोसँग व्यापार गर्यो भने दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको विक्री हुन्छ । व्यापर सोचे जस्तै भएको छ । एनपीएलले नाफा गराएको छ । मलाई मात्रै होईन सबैलाई राम्रो भएको छ ।’

अघिपछि नेपाल प्रहरी, नेपाल आर्मीको कार्यालय अगाडि बसेर फुटपाथ व्यापार गर्दै आएकी मन्जु तामाङ मर्हजन व्यापार ठिकै भएको सुनाउछिन । ‘बदाम, चाउचाउ, पानी, चुइगम्म, , चकलेटलगायत बेचिरेहेको छु । व्यापार ठिकै छ । अहिले सरदरमा दैनिक सय रुपैयाँ सम्मको व्यापार हुन्छ,’ उनले भनिन् ।  

हुम्लाका गोपाल जेठरा आइतबारदेखि शुक्रवारसम्म अन्य काम गर्छन । तर एनपीएल सुरु भएदेखि उनी शनिवार–शनिवार टीयू मैदानमा बदाम, पानी बेचिरहेका छन । उनी भन्छन, ‘शनिवार मात्रै बेच्छु म चाहिँ । अरु दिन अफिस जान पछ्र्र । व्यापार राम्रै छ । सामान्य खर्च जुटेको छ ।’

ह्यापीडेन्ट चुइन्गमको दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार गरिरहेकी विनिता निरौला स्टल नै राखेर राम्रो आम्दानी गरिरहेको सुनाउँछिन् । उनी भन्छिन्,‘हाम्रो सेल्स राम्रै छ । दैनिक दुईदेखि तीन हजारसम्मको व्यापार भइरहेको छ ।’
एनपीएलले क्रिकेटसँगै व्यापार व्यावसाय पनि चलायमान बनाउन आयोजक क्यानले बताउँदै आएको थियो । एनपीएलबाट एक अर्बको अर्थतन्त्र चलायमान बनाउने आकलन पनि गरिएको छ ।

nullnullnullnullnull

नेपाल न्यूज बैंक