काठमाडौं । सरकारले बिक्री गरेको नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अभौतिकीकरण नहुँदा एक अर्ब ६० करोड रुपैयाँ सार्वजनिक ऋण व्यवस्थापन कार्यलय (पीडीएमओ) मा नै फ्रिज भएको छ ।
गत भदौदेखि पिडिएमओले सबै खालका कारोबारलाई अनलाइन प्रणालीमा प्रविष्ट गरेको छ । तर, कतिपय लगानीकर्ताले आफूसँग भएको बचतपत्रलाई अभौतिकीकरण नै गरेका छैनन् । जसका कारण पिडिएमओ कार्यालयले बचतपत्रबाट प्राप्त ब्याज वितरण गर्न नसकेको पिडिएमओ कार्यालयका उप सचिव प्रकाश पुडासैनीले बताए ।
गत भदौ २५ गते पिडिएमओले सूचना नै जारी गरी बचतपत्र अनिवार्य रुपमा अभौतिकीकरण गर्न भनेको छ । ‘हामीले बचतपत्र अनिवार्य रुपमा अभौतिकीकरण गर्न सुचना जारी गरी सकेका छौ । खरिदकर्तालाई एसएमएस गरी जानकारी पनि गराएका छौ । तर पनि धेरैले बचतपत्र अभैm पनि भौतिक रुपमा नै राख्नु भएको छ,’ उनले भने । तर, कति जनाले बचतपत्र भौतिक रुपमा नै राख्नु भएको छ भन्ने तथ्यांक भने पिडिएमओसँग नभएको उनले बताए ।
बचतपत्र खरिद गर्दा प्रविधिमैत्री नहुन नसक्दा पनि यो समस्या आएको पिडिएमओ कार्यालयको ठम्म्याइ छ । कतिपय लगानीकर्ताले आफनो लगानी गोप्य नै राख्न चाहेको पनि पाइएको पिडिएमओको उप निर्देशक पुडासैनीले बताए । ‘बा आमाहरुले आफनो लगानी गोप्य राख्न चाहेको तर, अनलाइन कारोबार गर्नुपर्दा आफूलाई गर्न नआउने अनि छोराछोरीलाई सहयोग माग्न जानु पर्ने भएकाले पनि बचतपत्र अभौतिकीकरण नभएको हो कि जस्तो लाग्छ,’ उनले भने ।
बचतपत्र अभौतिकीकरणका लागि कार्यालय सहज प्रक्रिया अवलम्बन गरेको छ । अनलाइन मार्फत बचतपत्र अभौतिकीकरण गर्न नजान्नेले कार्यालयमा आएर डकुमेन्ट बुझाएका कर्मचारीले आफैले अभौतिकीकरण गरिदिने सुविधा पनि छ । तर, कतिपयलाई जानकारी नभएपनि अभौतिकीकरण नगर्नु भएको हुन सक्ने पिडिएमओको बुझाइ छ ।
नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचत पत्रमा लगानी गर्नै लगानीकर्तालाई कार्यालयले बर्षमा दुई पटक ब्याज वितरण गर्छ । ब्याज व्यक्तिको बैक सिधै जम्मा हुन्छ । तर, यसको लागी लगानीकर्ताले आफनो बचतपत्र अनिवार्य रुपमा अभौतिकीकरण गर्नुपर्ने हुन्छ ।
पिडिएमओको तथ्यांक अनुसार सरकारले हालसम्म २१ अर्ब ३८ करोड रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गरेको छ । यस्तो बचतपत्रको न्यूनतम ब्याजदर ६.५ प्रतिशत र अधिकतम ९.५ प्रतिशतसम्म प्रदान गरेको छ ।
त्यस्तै, सरकारले हालसम्म १६ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । जसमध्ये ८१ करोड २९ लाख रुपैयाँको मात्र विक्री भएको छ । वैदेशिक रोजगार बचत पत्रका लागि थोरैमा ९ र धेरैमा १२.५० प्रतिशतसम्म ब्याज प्रदान गरिएको छ । वैदेशिक रोजगार बचतपत्र ५ वर्षको लागि निष्काशन गर्दै आएको छ ।
प्रतिफल धेरै तर आकर्षण कम
सरकारले निष्काशन गर्ने वैदेशिक रोजगार बचतपत्र तथा नागरिक बचतपत्रको प्रतिफल धेरै भएपछि लगानीकर्ताको आकर्षण भने कम हुने गरेको पाइएको छ ।
कार्यालयले मंसिर १२ खुल्ला गरेको वैदेशिक रोजगार बचतपत्रमा हालसम्म जम्मा १ प्रतिशत मात्रै आवेदन परेको छ भने नागरिक बचतपत्रमा २५ प्रतिशत मात्रै आवेदन परेको कार्यालयका उप सचिव प्रकाश पुडासैनीले बताए । बचतपत्रमा गरिएको लगानी पूर्ण रुपमा सुरक्षित हुन्छ । बैक तथा वित्तीय संस्थाको भन्दा बचतपत्रको प्रतिफल उच्च छ । तर पनि बचतपत्रमा लगानीकर्ताको आकर्षण कम भएको उनको भनाइ छ ।
सरकारले बचतपत्रको बिषयमा लक्षित वर्गलाई पर्याप्त मात्रामा जानकारी दिन नसक्दा खरिदकर्ताको संख्या कम भएको उनको ठम्माईछ । ‘हामीले बचतपत्रको बिषयमा नागरिकलाई सुचना दिन नसकेकै हो । बचत खरिद गर्ने प्रक्रिया सरल र सुरक्षित त बनायौ तर, खरिद गर्ने व्यक्तिलाई यसको जानकारी दिन सकेनौ,’ उनले भने ।
कार्यालले निष्काशन गर्ने नागरिक बचतपत्रमा आम नेपाली नागरिकले आवेदन दिन पाउछन् । तर, वैदेशिक रोजगारपत्रका लागि भने वैदेशिक रोजगारीमा भएका नेपाली नागरिक र गैरआवासीय नेपालीले मात्रै आवेदन दिन पाउछन् । वैदेशिक रोजगारीमा गएको ६ महिना पुरा भएको र वैदेशिक रोजगारीबाट फर्केको ६ महिना पुरा नभएका व्यक्तिले पनि यो बचतपत्रको लागि आवेदन दिन पाउँछन् ।
बचतपत्र भनेको के हो ? कसरी दिने आवेदन ?
सरकारले बर्षेनी निश्चित रकम सार्वजनिक ऋण संकलन गर्छ । ऋण संकलन दुई वटा प्रकारले गरिन्छ । एउटा बाह्य ऋण संकलन र अर्को भनेको आन्तरिक ऋण संकलन हो ।
आन्तरिक ऋण पनि सरकारले विभिन्न तरिकाले गर्छ । टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदशिक रोजगार बचतपत्र विक्री गरी सरकारले आन्तरिक ऋण संकलन गर्छ । बचतपत्र लामो अवधिको लागि हुन्छ । ५ देखि १२ वर्षसम्मको बचतपत्र सरकारे निष्कासन गर्दै आएको छ ।
नागरिक बचतपत्र भनेको आम नागरिकबाट सरकारले ऋण संकलन गर्ने प्रक्रिया हो । यस्तो ऋणपत्र विक्री गरी सरकारले निश्चित रकम संकलन गर्छ । नागरिक बचतपत्रमा स्वदेशमा वा विदेशमा रहेका आम नागरिकले आवेदन दिन पाउछन् । खरिद गरेको ऋणपत्रमा नागरिकले ब्याज पनि पाउछन् । यस्तो खालको ब्याज बैक तथा वित्तीय संस्थाले दिने भन्दा बढी नै हुने गरेको कार्यालयका उप सचिव पुडासैनीले बताए ।
त्यस्तै वैदेशिक रोजागर बचतपत्रमा भने नेपाल सरकारबाट श्रम स्वीकृति लिएर गएका नेपाली श्रमिकले मात्रै आवेदन दिन पाउछन् । आवेदन दिनका लागि श्रमिक विदेश गएर काम गरेको ६ भएको हुनुपर्नेछ । त्यस्तै, गैरआवासीय नेपालीले पनि यसमा लगानी गर्न सक्नेछन् ।
यस्तो बचतपत्र लगानीकर्ताले कुनै पनि समयमा बिक्री गर्न सक्छन् । लगानीकर्ताले बजार निर्माताकोमा पुगेर तत्काल बचतपत्र विक्री गर्न सक्छन् । अन्यथा पाँच वर्ष पुरा भएपछि सरकारले सावा र ब्याज एकमुष्ट रुपमा भुक्तानी गर्छ । यस्तो खालको बचतपत्र सरकारले वर्षमा दुई पटक बिक्री खुल्ला गर्छ भने ब्याज ६ महिनामा एक पटक वितरण गर्छ ।
कार्यालयले गत मंसिर १२ गते देखि नागरिक र वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । इच्छुक नेपालीले बचतपत्र खरिदका लागि आगामी पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कार्यालयले निष्काशन गरेको वैदेशिक रोजगार बचतपत्र २०८६ (क) ५ वर्षे अवधिको हो । कार्यालयले पाँच करोड रुपैयाँको बचतपत्र निष्काशन गरेको छ । यसको बार्षिक ब्याजदर ८.५ प्रतिशत तोकिएको छ । बचतको आवेदन दिदा कम्तिमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले भाग गर्दा निः शेष भाग जाने अंकमा आवेदन दिनुपर्नेछ ।
यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नगरिक वा गैरआवासीय नेपालीले आफु वा आफनो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन् । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सदिन सकिनेछ ।
त्यस्तै, कार्यालयले दुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८६ (क) ५ बर्षे अवधिको लागि निष्कासन गरेको छ । यस्तो बचतपत्रको ब्याजदर ७.५ प्रतिशत ब्याजदर तोकिएको छ ।
नागरिक तथा वैदेशिक रोजगार बचतपत्र खरिदका लागि इच्छुक व्यक्तिले कार्यालयको वेवसाइट रहेको इन्भेष्टर पोर्टलमा गएर आफनो प्रोफाइल क्रियट गर्नुपर्नेछ । यसरी क्रियट गरिएको प्रोफाइल पहिलो पटक बजार निर्माताले प्रमाणीकरण गर्नुपर्नेछ । त्यसपछि लगानीकर्ताले त्यही प्रोफाइलमा गएर आफनो बचतपत्रको विवरण, ब्यालेन्स, खरिद र विक्री गर्न सक्नेछन् ।