काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुल फण्ड सञ्चालनका लागि आजदेखि इकाई निष्काशन गरेको छ ।
बन्दमुखी प्रकृतिको १० वर्षे अवधिका लागि मुक्तिनाथ म्युचुअल फण्ड १ नाम रहने गरी क्यापिटलले योजना सञ्चालन गर्न लागेको हो । योजना सञ्चालनका लागि पूँजी संकलन गर्ने उदेश्यले क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो । निष्काशनमा आएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २ प्रतिशत दरको २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरीएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमा आएको हो ।
छिटो अवधि मंसिर २४ गतेसम्मका लागि विक्री मिति तय भएको यी इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । छिटो अवधि मंसिर २४ गतेसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि पुस ४ गतेसम्म विक्रीमा रहने जानकारी योजना व्यवस्थापकले दिएको छ । बिक्री खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई विक्री भएमा मात्र बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।
तोकिएको न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्था समेत रहेको छ । यी इकाई निष्काशन तथा विक्री प्रबन्धकमो जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटल लिमिटेडकै रहेको छ ।
इकाई खरीदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सहिने व्यवस्था रहेको छ ।