काठमाडौं । मलेसिया सरकारले प्लान्टेसन क्षेत्रमा नेपाली श्रमिक लैजाने भएको छ । विगत आठ महिना देखि बन्द भएको मलेसिया रोजगारी नेपालीका लागि प्लान्टेसन क्षेत्र खुला गरिएको मलेसियाको क्वालम्पुर स्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका श्रम काउन्सलर भोलानाथ सुवेदीले अनुसार मलेसियन सरकारले दूतावासलाई पत्राचार गर्दै तत्कालका लागि प्लान्टेसन क्षेत्र खुला गरिएको जानकारी दिएको हो । तर, बजारमा हल्ला गरिएको जस्तो अन्य क्षेत्र भने नखुलाइएको उनले बताए ।
बजारमा मलेसियाले नेपालीका लागि प्लान्टेसन, गार्मेन्ट, गरगहना, नाई क्षेत्र खुल्ला गरिएको समाचार आएका छन् । तर, मलेसियन सरकारले भने दूतावासलाई अन्य क्षेत्रका बारेमा भने केही जानकारी नदिएको उनले बताए । ‘बजारमा हल्ला गरिए जस्तो अन्य क्षेत्रका खुलाइएको छैन । हामीलाई प्राप्त भएको पत्र अनुसार मलेसियाले प्लान्टेसन क्षेत्र मात्रै खुला गरेको छ,’ उनले भने ।
प्लान्टेसन क्षेत्र खुला गरेपछि मलेसियन रोजगारदाताको २२ वटा मागपत्रको फाइल दूतावासमा आईपुगेको श्रम काउन्सर सुवेदीले बताए । उनका अनुसार करिब एक हजार ५०० श्रमिकको माग आएको छ । ‘मागपत्र दूतावासमा प्राप्त भएको छ । आज भोलिमा मागपत्र प्रमाणीकरणको काम पनि हुन्छ,’ उनले भने ।
मलेसियन सरकारले प्लान्टेसन क्षेत्रमा २४ हजार ५०० आप्रवासी श्रमिक लैजाने तयारी गरेको छ । तर, आगामी जनवरी अगाडी भने मलेसियाले नेपाली श्रमिक नभित्राउने व्यवसायीले अनुमान गरेका छन् ।
त्यस्तै, मलेसियाले खुला गरेको प्लान्टेसन क्षेत्रको नेपालको वैदेशिक रोजगार क्षेत्र चलायमान हुन नसक्ने समेत व्यवसायीहरुको अनुमान छ । प्लान्टेसन भनेको कृषि क्षेत्र हो । नेपालबाट कृषि क्षेत्रका लागि नै नेपाली श्रमिक मलेसिया नजाने गरेको व्यवसायीहरु बताउँछन् । सेक्युरिटी गार्ड र उत्पादन क्षेत्र नखुलाएसम्म मलेसियाका लागि नेपालको रोजगारीमा चहलपहल नहुने व्यवसायीहरु बताउँछन् । तर, मलेसियाले भारत र बंगालदेशका लागि भने गत असोज देखि नै अन्य क्षेत्र पनि खुलाएको थियो ।
मलेसिया सरकारले आवश्यकताभन्दा बढी आप्रवासी श्रमिक भएको र आप्रवासी श्रमिक शोषणमा परेको भन्दै आप्रवासी श्रमिक भित्राउने प्रक्रिया बन्द गरेको हो । गत बैशाख १८ पछि श्रमिक ल्याउने कोटा रद्द गरेको थियो । जेठ ४ भित्र आप्रवासी श्रमिकको भिसा लगाइसकेकालाई जेठ ३१ सम्म मलेसिया प्रवेश गर्ने अन्तिम दिन तोकिएको थियो । मलेसिया सरकारसँग आफूसँग भएको कुल श्रमशक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति छ । मलेसियामा एक करोड ७० लाख श्रमशक्ति रहेको तथ्यांक छ । यसअनुसार मलेसियामा काम गर्न पाउने विदेशी श्रमशक्तिको अधिकतम संख्या २५ लाख ५० हजार हो । गत फेब्रुअरीसम्ममा विदेशी श्रमिकको संख्या २१ लाख ३० हजार ९ सय ३१ जना पुगेको थियो । गत मार्च ३१ सम्म विदेशी श्रमिकका लागि तोकिएको कोटा पूरा भएपछि नेपालसहित आप्रवासी श्रमिकको कोटा दिन बन्द गरिएइको थियो ।
विश्व आर्थिक मन्दीको प्रभाव स्वरुप मलेसियाले नयाँ रोजगारी सृजना गर्न सकेको छैन । तर, खाडीका अन्य मुलुकको तुलनामा मलेसियाको श्रम नीति खुला र उदार भएकै कारण नेपाली श्रमिकको आकर्षण बन्न थालेको हो । त्यस्तै मलेसियाले पटक पटक आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ । जसका कारण अन्य मुलुकमा गएका नेपाली श्रमिक पछि नेपाल फर्कदै मलेसिया जान थालेका छन् । तर, मलेसियाले नै आप्रवासीलाई प्रतिबन्ध गरेपछि धेरै नेपाली श्रमिक अन्यौलमा परेका छन् ।
गत आव २०८०/८१ मा मलेसिया जनाका लागि वैदेशिक रोजगार विभागबाट ८१ हजार ३८२ जनाले श्रम स्वीकृति लिएका छन् । आव २०७९/८० मा २ लाख १९ हजार ३५७ नयाँ श्रम स्वीकृति लिएका छन् । त्यस्तै, आव २०७८/७९ मा २६ हजार ०९१ जनाले श्रम स्वीकृति लिए । आव २०७७/७८ मा १०७, आव २०७६/७७ मा ३९ हजार १६७ जनाले श्रम स्वीकृति लिएको विभाग तथ्यांक छ ।
मलेसियामा हाल ५ लाख नेपाली कार्यरत छन् । नेपालीहरु सुरक्षा गार्ड, पर्यटन क्षेत्र, फर्निचर, सरसफाइ र साना औद्योगिक उत्पादन क्षेत्रमा नेपालीहरु रोजगारीमा संलग्न छन् । मलेसियामा सुरक्षा गार्डमा रहेको आप्रवासी श्रमिकमध्ये ९९ प्रतिशत नेपाली छन् ।
मलेसियाले आगामी जनवरी देखि लागू हुने गरी आप्रवासी श्रमिकको न्यूनतम एक हजार ७०० पुराएको छ । नेपाल र मलेसिया सरकार बीच शुन्य लागतमा श्रम सम्झौता भएको छ ।