शीर्षकहरू

नेप्सेमा पहिरो, दुई कम्पनीमा नकारात्मक सर्किट

नेप्सेमा पहिरो, दुई कम्पनीमा नकारात्मक सर्किट

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक २४.९ अंकले घटेर दुई हजार ७५०.८७ बिन्दुमा बजार बन्द भएको छ । बजार खुलेसँगै उच्च अंकले ओरालो लागेको शेयर बजार त्यसपछि सम्हालिँदै उतारचढावका बीच घटेर बन्द भएको हो ।

यसदिन सेन्सेटिभ इन्डेक्स २.१८, फ्लट इन्डेक्स ०.५९ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५७ अंकले घटेको छ । १३ उपसमूहमध्ये ऊर्जा, उत्पादन तथा प्रशोधन र लघुवित्तबाहेक सबै उपसमूहको शेयर घटेको छ ।

आज कारोबारमा आएका २४४ मध्ये १३२ कम्पनीको शेयरमूल्य घटेको छ भने १०४ कम्पनीले कमाएका छन् । यस्तै ८ कम्पनीको शेयर स्थिर रहेको छ । बुधबार सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ भने विशाल बजार कम्पनीको शेयर ९.१७ प्रतिशतले घटेको छ ।

खानीखोला जलविद्युत्, जोशी हाइड्रोपावर, रिभर फल्स पावर, इङ्ग्वा हाइड्रोपावर र स्वाभिमान लघुवित्तको शेयर ९ प्रतिशतभन्दा ज्यादाले बढेको छ ।

यसदिन ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर खरिदब्रिकी भएको छ ।