काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफबाट कुल १० दशमलव ६५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो । गत वर्ष यस कम्पनीले ३ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ दशमलव ८ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस कम्पनीले लाभांश वितरणलाई निरन्तरता दिदैं आएको छ । पछिल्लो दश वर्षको तथ्याङ्कलाई हेर्दा कम्पनीले २९ दशमलव ५३ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । आर्थिक वर्ष ०७२/७३ को मुनाफाबाट कम्पनीले २८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको देखिन्छ ।