काठमाडौं । ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको केशर महल पुस्तकालयले नयाँ रुप पाएको छ । पुस्तकालयको संरचना चिरिच्याट्ट र सुविधा सम्पन्न बन्दै गएको छ । पुनर्निर्माणले पूर्णता पाइसक्दा पुस्तकालय मुलुककै भब्य र सुविधा सम्पन्न बन्ने संभावना देखिएको छ ।
२०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहल हस्तान्तरणको तयारीमा छ । आउँदो बैशाखसम्ममा हस्तान्तरण हुने बताइएको छ । नेपालका राणा प्रधानमन्त्री केशर शमशेर राणाद्वारा स्थापना गरिएको ऐतिहासिक पुस्तकालय पुनर्निर्माणको अन्तिम चरणमा पुगेको पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाले जानकारी दिए ।
२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएको पुस्तकालयको पुनर्निर्माणको सम्झौता २०८१ साल चैत मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ । पुनर्निर्माणपछि पुस्तकालयमा ६५ हजार भन्दा बढी पुस्तकहरूमध्ये दुर्लभ हस्तलिखित ग्रन्थहरू र ऐतिहासिक दस्तावेजहरूको संग्रहलाई थप व्यवस्थित र सुरक्षित बनाउन प्रयास भइरहेको पुस्तकालय प्रमुख निरौलाले जानकारी दिए ।
पठन संस्कृतिमा आएको परिवर्तनलाई ध्यानमा राख्दै केशर पुस्तकालयले डिजिटल पुस्तकालय निर्माणका लागि काम अघि बढाएको छ । नेपाल सरकार, एसियाली विकास बैंक, कोरियाली सरकार, र युनेस्कोको सहयोगमा डिजिटल पुस्तकालयको योजना अघि सारिएको निरौलाको भनाई छ ।
उनले भने, ‘हामीले विद्युतीय लाइब्रेरीको विकास गर्नेतर्फ योजना बनाएका छौ । अर्थात, घरमै बसेर मोबाइल ल्यापटबाट पढ्ने वातावरण विकास गर्नपर्ने भएको छ । त्यसको प्रारम्भिक काम नेपाल सरकारले विशेषतः शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले डिजिटल लाईब्रेरीको प्रारम्भिक कामको खाका चाहिँ तयार गरेको छ ।’
प्रमुख निरौलाका अनुसार डिजिटल परियोजना अन्तर्गत महत्त्वपूर्ण पुस्तक तथा दस्तावेजहरूलाई डिजिटाइज गरेर सुरक्षित राख्ने योजना छ । करिब ६४ करोड लागतमा ६१ कोठामा भवनलाई पुनर्निर्माण गरिएको जनाइएको छ ।
‘एसियाली विकास बैंकको प्राविधिक सहयोगमा, कोरियाली सरकारको आर्थिक अनुदान र युनेस्कोको पनि केही प्राविधिक सहयोगमा, केशर पुस्ताकलय, राष्ट्रिय पुस्ताकलय, डिल्लीरमण रेग्मि पुस्ताकलयमा रहेका महत्वपुर्ण पुस्तक तथा दस्तावेजहरुलाई डिजिटाइज गर्ने र डिजिटललाइज्ड गरिएका दस्तावेजहरुलाई डिजिटल लाईब्रेरीमा राख्ने संँगसँगै एउटा राष्ट्रिय विद्युतीय पुस्ताकलय बनाउने परियोजना सुरु भएको छ,’ निरौलाले भने ।
पुनर्निर्माण गर्दा पुरातात्त्विक महत्वको केशर महलको मौलिकता जोगाउन सकेसम्म पुराना सामग्री र प्रविधिहरू प्रयोग गरिएको छ । तर, प्राविधिक समस्याहरूका कारण केही संरचनात्मक परिमार्जन गर्नुपरेको छ । जसमा काठको प्रयोग भएको ठाउँमा रड र जाली प्रयोग गरिएको छ ।
प्रमुख निरौलाले भने, ‘पुराना काठहरु प्रयोग गर्न मिल्ने थिएनन् । त्यसमा हामीले नयाँ काठहरु थप्यौ । फलामहरु थपिएको छ । रडहरु थपिएको छ । अरु त केही नयाँ प्रयोग छैन ।’
भवनको रेट्रोफिटिङ गर्दा बुट्टा, सिलिङ, वास्तुकला, डिजाइन सबै पुरानै शैलीमा निर्माण गरिएको जनाइएको छ । मुख्य भवनलाई प्रबलीकरण गर्दा बगैँचा, चमेनागृह, सुरक्षाकर्मी भवन र पेभिलियन भने नयाँ निर्माण गरिएको छ ।
केशरमहलमा ६१ वटा कोठा छन् । बगैँचामा इटालीबाट ल्याइएका आधुनिक बत्ती जडान गरिएको छ । २०७२ सालको भुकम्पले केशर महलमा क्षति पु¥याउँदा पुस्तकालय समेत बेहाल अवस्थामा पुगेको थियो ।
केशर शमशेरले बेलायतको पुस्तकालय प्रणालीबाट प्रभावित भएर १९४९ मा केशर पुस्तकालय स्थापना गरेका थिए । पुस्तकालयमा ११५० वर्ष पुरानो हस्तलिखित ग्रन्थ सुश्रुतसंहिता समेत संग्रहित छ, जसलाई यूनेस्कोले २०१३ मा मेमोरी अफ द वर्ल्डमा दर्ता गरेको छ ।
पुस्तकालयले आगामी दिनमा सेवा समय विस्तार गर्दै, जाडोमा बिहान ९ देखि साँझ ५ बजेसम्म र गर्मीमा बिहान ९ देखि साँझ ६ बजेसम्म खुला गर्ने योजना बनाएको छ ।