काठमाडौं । सम्पति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जानकारी नदिएपछि नेपाल बीमा प्राधिकरणले १० वटा बीमा कम्पनीलाई कारवाही गरेको छ ।
सम्पति शुद्धीकरण ऐन २०६४ को दफा ३५ (ख) र प्राधिकरणले जारी गरेको सम्पति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन २०८१ को ६ (६) बुँदा बमोजिम पुर्नबीमा कम्पनी, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघुबीमा कम्पनीलाई कारवाही स्वरूप कम्पनीहरूलाई पहिलो चरणमा सचेत गराइएको प्राधिकरणले जनाएको छ ।
सम्पति शुद्धीकरण ऐन २०६४ को दफा अनुसार कुनै व्यक्ति वा संस्थाले बीमा कम्पनीमा शंकास्पष्ट कारोबार गरेको पाइएमा नियमनकारी निकायलाई विवरण बुझाउनु पर्नेछ । प्राधिकरणले जारी गरेको निर्देशन बमोजिम भने बीमकले सेवा लिएका लेखापरीक्षक, बीमाङकी, बमिा मध्यस्थकर्ता, अन्य बीमा सेवा प्रदायक, अभिकर्ता तथा परामर्शदाताको विवरण अद्यावधिक गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिना भित्रमा प्राधिकरण समक्ष पेश गर्नुपर्नेछ । निर्देशनको पालना नगरेमा प्राधिकरणले कारवाही स्वरूप कुनै निश्चित बीमा व्यवसाय गर्न पाउने देखि आर्थिक जरिवाना समेत गर्न सक्ने व्यवस्था छ । तर, पहिलो पटक भएकोले कम्पनीहरूलाई सचेत गराइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको निर्देशनलाई उल्लघंन गर्दे आर्थिक वर्ष समाप्त भएको पाँच महिना वित्तिसक्दा पनि कम्पनीहरूले प्राधिकरणलाई विवरण बुझाएका छैनन् । विवरण नबुझाउने नेपाल पुर्नबीमा कम्पनी, हिमालयन पुर्नबिमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी, ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, नेशनल लाइफ, एशियन लाइफ, ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्यारेन्सलाई प्राधिकरणले सचेत गराएको छ ।
यसपछि पनि कम्पनीहरूले निर्देशन पालना नगरेमा थप कारवाही गरिने प्राधिकरणले जनाएको छ ।
नेपालको बीमा क्षेत्रमा गैरकानुनी रकम प्रयोग भएको अनुमान गरिएको छ । बिशेषगरी एकल प्रिमियम भुक्तानी बीमालेखमा यस्तो खालको रकम प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ ।