काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । जस अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन हुनेछ ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीदका लागि पुस १७ गतेसम्म आवेदन दिन सकिनेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ कायम हुनेछ । कम्पनीले आयोजना निर्माणका क्रममा लिइएको १ अर्ब ४० करोडको आंशिक बैंक ऋण, प्रबद्र्धकबाट लिएको ३० करोड ६४ लाख ४६ हजार ८६० रुपैयाँ ३९ पैसा बैंक ऋण र ठेकेदार तथा बिक्रेताहरुको १२ करोड १५ लाख २३ हजार १३९ रुपैयाँ ६१ पैसा भुक्तानी गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जुन रेटिङ्गले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यो हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । अनलाईन आवेदनका लागि मेरो शेयर अनलाईन पनि प्रयोग गर्न सकिनेछ ।