काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वष २०८०/८१ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा ५० करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरको बोनस शेयर र २ करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
गत वर्ष कुल २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गरेको यो कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।