शीर्षकहरू

गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग

गौतमबुद्ध विमानस्थल दिगो सञ्चालन गर्न चेम्बरको माग

लुम्बिनी । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावनाबारे सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको छ । 

भैरहवामा आयोजित कार्यक्रममा चेम्बर लुम्बिनी प्रदेशले मुख्यमन्त्री चेत नारायण आचार्य, पदेशका मन्त्री, निजी क्षेत्रका प्रतिनिधीसंग वृहत अन्तरक्रिया आयोजना गरेको हो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भैरहवा विमानस्थल स्थायी रुपमा सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्ने बताए । ‘लुम्बीनीमा लगानीः अवसर र चुनौति’ विषय कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले विमानस्थल सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिवद्धता समेत जनाए ।

प्रदेश सरकारलाई बलियो बनाउनेगरी आन्तरिक समन्वय एवं लगानीको वातावरण सिर्जना गर्ने गरी काम भइरहेको उनको भनाई छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पुर्णरुपमा संचालन गर्नका लागि सरकार प्रयासरत रहेको उनको भनाइ छ । 

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले निजी क्षेत्रमा लगानीको वातावरण बन्नुपर्ने बताए । लुम्बिनी प्रदेश लगानी र प्राकृतिक श्रोतको दृष्टिकोणले उत्कृष्ट प्रदेश रहेको वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाई छ । 

लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टंक प्रसाद पोख्रेलल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लािग सरोकारवाला निकायबीच पुर्ण समन्वय र पहल कदमी लिनुपर्नेमा जोड दिए । भारतीय पर्यटकलाई चेकजाचका नाममा अनावश्यक दुख दिने काम बन्द गर्नुपर्ने उनको भनाई छ । लुम्बिनी प्रदेशमा लगानी भित्र्याएर पर्यटक आर्कषित गर्नुपर्नेमा उनले जोड दिए । भैरहवा विमानस्थल पुर्णरुपमा सञ्चालन गर्नका लागि सवैको पहल आवश्यक रहेको अध्यक्ष पोखरेलले जोड दिए ।