शीर्षकहरू

सामाजिक सञ्जालमा द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति दिनेलाई कारबाही गर्ने गृहको चेतावनी

सामाजिक सञ्जालमा द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति दिनेलाई कारबाही गर्ने गृहको चेतावनी

काठमाडौँ । गृहमन्त्रालयले सामाजिक सञ्जालमा द्वेषपूर्ण र भ्रामक अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले पछिल्लो समयकेही व्यक्तिले सामाजिक सञ्जाल लगायतका माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याएकाले सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति दिने, कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउने बताएको हो । सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुऱ्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेको मन्त्रालयको भनाइ छ ।

'विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरूलाई निरूत्साहित गर्न विभिन्न कानूनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको व्यहोरा सर्वविदितै छ,' विज्ञप्तिमा भनिएको छ, 'कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानुनद्वारा बर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सादर अनुरोध छ ।'

मन्त्रालयले संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताको लागि भने क्रियाशील र प्रतिवद्ध रहेको जनाएको छ ।