शीर्षकहरू

वर्ल्डलिंकमा फिनल्याण्डको फिनफण्डले गर्‍यो एक अर्ब ४२ करोड लगानी

वर्ल्डलिंकमा फिनल्याण्डको फिनफण्डले गर्‍यो एक अर्ब ४२ करोड लगानी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स र फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डबीच एक अर्ब ४२ करोड लगानी सम्झौता भएको छ । 

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिनेछ ।

सम्झौतापछि फिनफण्डका वरिष्ठ लगानी प्रवन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनल वर्ल्डलिङ्कले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरु विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको बताए । डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको उनले स्पष्ट पारे । 

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरुका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनिय बनाउने लक्ष्य राखेको उनले बताए । 

डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिंकको बिस्तारले वल्र्डलिकंका ग्राहकहरुलाई मात्र नभइ अन्य इन्टरनेट सेवा प्रदायकहरु, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरुलाई पनि फाइदा पुग्नेछ । “फिनफण्ड डाटा केन्द्र निर्माणको क्रममा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा वर्ल्डलिंकलाई सहयोग गर्न तत्पर छ,’ उनले भने । 

त्यस्तै, वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवालले फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तिब्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने कम्पनीको लक्ष्यमा एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने बताए । ‘हामो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्वस्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले शहर र ग्रामीण भेग बिचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौं,’ उनले भने । 

वर्ल्डलिंक नेपालको ठूलो र पुरानो इन्टरनेट सेवा प्रदायकमध्येको एक कम्पनी हो । यसले ५ हजार भन्दा बढी मानिसहरूलाई रोजगारी प्रदान गरेको छ । कम्पनीसँग नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार साझेदारी छ । ९ लाख भन्दा बढी घरपरिवारमा पहुँच छ । कम्पनीले हाल नेपालको ७७ जिल्ला मध्ये ७३ जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले यसअघि नै ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्राएको छ । विदेशी साझेदार भित्राउने वल्डलिंक पहिलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । कम्पनीले एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसीओ) मार्फत ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’, कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्डलगायतका अवार्डहरु प्राप्त गरेको छ । 

फिनल्याण्ड सरकारको अधिनमा रहेको फिनफण्ड एक विकास क्षेत्रको लगानीकर्ता र प्रभाव पार्ने लगानीकर्ता हो । यसले दिगो भविष्य निर्माण गर्न र विश्वव्यापी विकास चुनौतीहरु समाधान गर्ने व्यवसायहरूमा लगानी गरेर दिगो प्रभाव उत्पन्न गर्दछ । फिनफण्डले अफ्रिका, एसिया र ल्याटिन अमेरिकामा सञ्चालित व्यवसायहरूलाई जोखिम

पुँजी, दीर्घकालीन लगानी ऋण, मेजानाइन वित्तपोषण र विकासशील बजारहरूमा कसरी लगानी गर्ने भन्ने बारे विशेषज्ञता प्रदान गर्दछ। फिनफण्डले ओईसीडी÷डीएसीद्वारा परिभाषित विकासोन्मुख देशहरूमा मात्र लगानी गर्छ । फिनफण्डले नवीकरणीय ऊर्जा, दिगो वन, दिगो कृषि, वित्तीय संस्था र डिजिटल पूर्वाधार र समाधानहरू जस्ता दिगो विकासका लागि महत्वपूर्ण क्षेत्रहरूमा विशेष जोड दिँदै आएको छ ।