काठमाडौं । दुई लघुवित्त कम्पनीले प्रस्ताव गरेको यस वर्षको लाभांश मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको यस वर्षको लाभांश मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका हुन ।
यी दुई कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । सपोर्ट लघुवित्तले पुस ६ गते र फरवार्ड माइक्रोफाइनान्सले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त सभा प्रयोजनका लागि दुबै कम्पनीले मंसिर १४ गते एक दिन बुक क्लोज गर्न लागेकाले मंसिर १३ गते लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको हो । यस वर्ष सपोर्ट लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १३ दशमलव ७७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै फरवार्ड माइक्रोफाइनान्सले यस वर्ष गत वर्षको हाल कायम चुक्ता पूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।