शीर्षकहरू

मूल्य सस्तिएपछि बजारमा सुन किन्ने बढे, पसले भन्छन्- छैन

मूल्य सस्तिएपछि बजारमा सुन किन्ने बढे, पसले भन्छन्- छैन

काठमाडौँ । गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरु सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक लाख ७१ हजारसम्म पुगेको सुनको मूल्य मंसिर ११ मा सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

झण्डै एक महिनाको अवधिमा सुनको मूल्यमा १२ प्रतिशतले गिरावट आइसकेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेपछि सुनको भाउमा गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय थियो । मंगलबारको तुलनामा बुधबार सुनको भाउ नौं सय रुपैयाँले बढेको हो ।मंगलबार सुनको भाउ १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।

पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला १लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

सोमबार एकैदिन १५ हजार ९ सय रुपैयाँले सुनको भाउ घटेको हो । नेपाल सरकारले सुनमा लगाएको भन्सार महशुलमा समायोजन गरेको र अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेपछि केही समयका लागि सुन सस्तिएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

उनले भने,‘सरकारले कुनैपनि वस्तुमा कर घटाउने बढडाउने गरिरहेको हुन्छ । यसै अनुसार कुनैपनि वस्तुको मूल्य निर्धारण हुन्छ । सुनको हकमा पनि सरकारले सुनमा लाग्दै आएको कर, भन्सार दर घटाएको कारणले सुन केही समयका लागि सस्तिएको हो ।’

थापाका अनुसार अब भने सुन घट्ने सम्भावना कम छ । न्यूरोडमा यतिबेला सुन किन्नेहरुको चहलपलह बाक्लो छ । अघिपछिभन्दा हिजोआज माग बढेको व्यवसायीहरुको भनाइ छ । न्यूरोडमा १० वर्षदेखि सुन व्यापार गर्दै आएकी बिमला घिमिरे काफ्ले सुनको मूल्य घटेसँगै ग्राहकहरु झन धेरै आउन थालेको बताउँछिन । 

उनले भनिन,‘सुनको भाउ एक लाख ७१ हजार पुग्दा मूल्य बढेर तोलाकै दुई लाख हुन्छ भन्ने हल्ला सुनेर ग्राहकहरु आत्तिएर किन्न आउने गरेकोमा तोलामा एक्कासी १५ हजारले सुन घटेर १ लाख ५१ हजार भएपछि ग्राहकहरु झनै धेरै आउन थालेका छन् ।’

सुन्ने किन्ने आउने बढे पनि बजारमा अभाव भने चर्किएको छ । सुनको मूल्य घटेसँगै केहीदिन यता सुन किन्नेहरुको घुइँचो लागेको सुन व्यवसायीहरु बताउँछन् । सोमबारयता व्यवसायीहरूले पसलमा सुन नभएको बताउँदै आएका छन् । अन्य समयभन्दा बढी माग आएकाले सुनको अभाव देखिएको व्यापारीहरू बताउँछन् । सुन बजारमा आउन अझै केही दिन लाग्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् । गत कात्तिक १२ गतेपश्चात् वाणिज्य बैंकहरूले सुन आयात गरेका छैनन् भने  नेपाल बैंकर्स संघले हाल सुन मौज्दात नरहेको जनाएको छ ।

सुनको मूल्य घट्नुमा आन्तरिक कारण रहेको औंल्याइन्छ । किनभने पटकपटक चर्को भन्सार दर बृद्धिले व्यवसायी असन्तुष्ट बन्दै आएका थिए ।  सरकारले भन्सार दर घटाउने निर्णय गर्दै नेपालराजपत्रमा प्रकाशित भएको र यससँगै लागू भएपछि व्यवसायी उत्साहित छन् । यसअघि पनि भन्सार दर घटाउन व्यवसायीहरूले सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्रीलगायतका सबै समक्ष भन्सार दर घटाउन माग गरेका थिए । 

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ ।जसबाट सरकारले २८ करोड ५५ लाख सात हजार रुपैयाँ बराबर भन्सार राजस्व प्राप्त गरेको छ ।