काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु रहेको बताए । मङ्गलवार उद्योग सङ्गठन मोरङको प्रतिनिधि मण्डलसंग भएको अन्तरक्रिया कार्यक्रममा उनले स्वदेशी उत्पादनहरु बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताए । अहिले विदेशबाट सामग्री बोकेर आएका सवारी साधनहरू रित्तै फर्किने स्थिति हटाउनुपर्नेमा उनले जोड दिए । सङ्गठनका पदाधिकारीहरूले मन्त्री भण्डारी समक्ष आफ्ना समस्याहरू सुनाएका थिए ।
सङ्गठनका महानिर्देशक चूडामणि भट्टराईले स्वदेशमा उत्पादित सामग्री भारत निर्यात गर्दा भारत पक्षले रोक लगाएको हुँदा यस विषयमा सहजीकरण गरिदिन आग्रह गरे ।
अहिले नेपालबाट सिमेन्ट, रड, स्टिल, प्लाईवुड, प्लास्टिक, सेनेटरी प्याड, जुत्ता चप्पल जस्ता सामग्री भारत निर्यात गर्दा भारतीय पक्षले रोक लगाउने गरेको व्यवसायीको गुनासो छ । भट्टराईले जोगबनी–विराटनगर कार्गो रेल सञ्चालनका लागि पहल गरिदिन तथा उद्योग विभागमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि आग्रह गरे ।
डेढ बर्सअघि नेपाल र भारतका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेको कार्गो रेल नियमित सञ्चालन भएमा सामान ढुवानी भाडा दर ३० प्रतिशत सस्तो हुने सङ्गठनका अध्यक्ष राकेश सुरानाले बताए । मन्त्री भण्डारीले भारतसँगका विषयहरूलाई आगामी दिनमा हुने सचिव स्तरीय बैठक मार्फत सहजीकरण गरिने बताए । आफ्नो मन्त्रालय मातहतका निकायबाट काममा ढिलासुस्ती नहुने उनको प्रतिबद्धता छ । सङ्गठनले हालै उत्कृष्ट काम गरेबापत २हजार अमेरिकी डलर बराबरको एसिया प्यासिफिक रिजन अवार्ड प्राप्त गरेको थियो ।