आगामी आइतबार कीर्तिपुर नगरपालिकामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरू मतदाता रिझाउन सक्रिय भएर लागेका छन् । नेकपा एमाले बाट सुरेन्द्र मानन्धर, माओवादी केन्द्रबाट शिवशरण महर्जन, नेपाल समाजवादी पार्टी (नयाँशक्ति) बाट दिलकुमार महर्जन, नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन र स्वतन्त्रबाट दिनेशकुमार अधिकारी डा नवरथ बानियालगायत उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । यस्तैमा स्वतन्त्र उम्मेदवार डा बानिया दलीय उम्मेदवारले स्थानीय तहको विकास गर्न नसक्ने एजेण्डासहित मैदानमा उत्रिएका छन् । काठमाडौँ वडा नं ७ भाङ्गलमा जन्मिएका डा बानियाले जर्मनीको हुम्बोल्ट विश्वविद्यालयबाट २००८ मा वातावरण विज्ञानमा विद्यावारिधि गरेका छन् ।
टियुको सेन्टर डिपार्टमेन्ट अफ इनभाइरोमेन्ट साइन्समा काम गरेका उनीसँग विभिन्न विद्यालय र कलेजहरूमा प्राध्यापकका रूपमा काम गरेको शिक्षा क्षेत्रको पनि अनुभव छ । दलहरूबाट स्थानीय तहको विकास हुननसक्ने बताउने डा बानिया स्वतन्त्र उम्मेदवारीबारे घरदैलोका क्रममा आर्थिकन्युजसँग आफ्ना योजना यसरी बताए–
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुरमा मेयर पदमा मैले गैरदलिय उम्मेदवारी दिनुपूर्व यहाँका १० वटै वडा र ६६ वटै टोल÷गाउँहरूमा पुगेर यहाँका समस्याहरू नजिकबाट नियालेँ । स्वतन्त्र उम्मेदवारी दिँदै गर्दा म लामो समयदेखि तयारीमा थिएँ । धेरै लामो समयदेखि यस क्षेत्रमा म शिक्षा र सामाजिक क्षेत्रहरूमा सक्रिय रूपमा लागिरहेको छु । विपद्का समयमा पनि काम गरिरहेकाले जनताहरूसँग मेरो नजिकको चिनजान छ र उहाँहरूको धेरै फिडब्याक दलीय संयन्त्रले हस्तक्षेप गरेर विकास निर्माणलगायत सबै कामहरूमा दख्खल पारिरहेको आयो । त्यसलाई चिर्नुपर्छ भनेर स्वतन्त्र उम्मेदवार आएमा उसबाट धेरै आशा गर्न सकिन्छ भन्ने उहाँहरूको पनि चाहना स्वतन्त्ररूपमा ती समस्याहरू चिर्नुपर्छ भन्ने थियो रह्यो ।
ती सबैलाई संष्लेषण गरेर म आफैँ अगाडि बढ्नुपर्छ भनेर होमिएको हुँ । शिक्षाका अनुभव सबैलाई दाउमा राखेर जनताका भावनाअनुरुप मैले उम्मेदवारी दिनुपर्छ भनेर म अगाडि बढेको हुँ । दलको उपस्थितिले समग्र कीर्तिपुरलाई विखण्डन गरेको छ ।
कीर्तिपुरको समग्र भूगोललाई भोट बैंकका रूपमा उपयोग गरेर दुरुपयोग गरेको गुनासो जनताको छ । त्यसको विरुद्धमा स्वतन्त्र उम्मेदवारी मेरो शालिन विद्रोह हो । यो आफैँमा जनताको मुद्दा हो । त्यो मुद्दालाई मैले मुखरित गरेर ल्याएको मात्रै हुँ ।
अहिले राष्ट्रियरूपमै दलहरू असफल र आलोचित भैरहेका छन् । यस बेलामा मेरो एउटा आग्रह स्थानीय निकायलाई दलहरूबाट मुक्त गरिदिनुस् भन्ने हो । दलहरूले संघ र प्रदेश संसद् चलाएर स्थानीयलाई मुक्त गरिदिनुस् भन्ने मेरो एजेण्डा हो । स्थानीय निकाय चलाउन दल चाहिँदैन । जनप्रतिनिधिहरू स्वतन्त्र रूपमा आएपछि उनीहरूले परिचालन गर्ने विकासका कामहरू समानुपातिक रूपमा जान्छन् । यसका अलावा मैले विकास योजनाका खाका बुनेर प्रतिबद्धतापत्र मैले बुझाएको छु । यति भैरहँदा दलले सधैँ देखाउने जनतालाई लोभ्याउने खाकाहरू केही पनि छैनन् । मैले त्यही गर्छु जुन जनताले आशा गरिरहेका छन् ।
जे भैरहेका छन् त्यही गर्छु, तर मेरो गर्ने शैलीमा फरक हुन्छ । म गुणस्तरमा सम्झौता गर्दिनँ । भौतिक अपचलनलाई शून्य सहनशीलतामा राखेर काम गर्छु र कनिका छरेजस्तो बजेट कार्यकर्तालाई बाँड्दिनँ । त्यो आवश्यकता मसँग हुँदिनँ । किनभने न मैले माथि रिजाउनुपर्ने नेता हुन्छ न तल पाल्नुपर्ने कार्यकर्ता । त्यसकारण पनि मेरो उपस्थितिले नगरपालिका सक्षम हुन्छ र प्रत्येक जनताले नगरले हाम्रो काम गर्छ भन्ने हुन्छ ।
एजेण्डा उहाँहरूको हो, त्यसैले स्वतन्त्रले वाद नलिइ तिनै एजेण्डा बोकेर हिँड्ने भएकाले उहाँहरूको चाहनाअनुसार म होमिएको हो । घरदैलोमा जुन माया र सामिप्यता पाएको छु त्यो लगभग मेरो जित भएको महशुस छ । मेरा ६ फुटे प्रतिबद्धताहरूमा पूर्वाधार विकास समानुपातिक रूपमा गुणस्तरीय गराउने, शिक्षा र स्वास्थ्यमा स्वस्थ जनशक्ति उत्पादन गर्ने र त्यसमा पनि प्राविधिक जनशक्ति उत्पादन गरी शिक्षालाई जनताको जागरणका लागि जोड्ने हो । प्रशासनीयक सेवालाई चुस्त बनाएर ज्येष्ठ नागरिकका घर घरसम्म आवश्यकताअनुसार पुर्याउने, एडल्ट नर्सिङ घरसम्म पुर्याउनेलगायत छ ।
त्यस्तै कला, संस्कृति र पर्यटनलाई पनि मैले समेटेको छु । कला संस्कृति अद्वितीय छ कीर्तिपुरमा त्यस्तै इतिहास पनि एकदमै गर्विलो छ यहाँको । त्यो कीर्तिपुरलाई संसारसामु पुर्याएर पर्यटकहरू भित्र्याउने एजेण्डा अघि सारेको छु । तर यो छोटो समयमा हुँदैन भन्ने मलाई थाहा छ । यद्यपि त्यसको जग बसाउन सकिन्छ, म त्यो जग बसाउँछु ।
पर्यटनलाई प्रवर्द्धनका लागि निजी क्षेत्रसँग हातेमालो गर्नेछु । सामाजिक सुरक्षा र रोजगारी सम्बोधन गर्छौँ । सबै स्थानीय तहलाई बेरोजगारीलाई सूचीकृत मात्रै गर्ने गरेका छन् तर हामी त्योभन्दा माथि उठेर सम्पूर्ण शिक्षा, स्वास्थ्य, पर्यटन लगायत सबै क्षेत्रमा प्रचूर रोजगारी सिर्जना गर्छौँ ।
त्यस्तै गरेर प्रविधिको प्रयोग अर्को बुँदा हो । प्रविधिको माध्यमबाट सम्पूर्ण क्षेत्रलाई सुधार गर्नेछौँ । विद्यालय तहबाटै कृत्रिम बौद्धिकताका कुरा राख्नेछौँ । नयाँ पुस्ताले राम्रोसँग काम गर्ने र त्योअनुसार प्रतिफल पाउने चाहना राख्छ त्यसअनुसार नगरपालिकाले सम्बोधन गर्न सकेको देखिँदैन । त्यस्तै खेलकुदमा कीर्तिपुर राम्रो सम्भावना भएको ठाउँ हो । बास्केटबल, भलिबलदेखि खोखोसम्मको सम्भावना यहाँ छ । कुनै बेला खोखोमा राम्रो स्थान कीर्तिपुरले बनाएको थियो । त्यसैगरी अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको स्तरोन्नति गर्न मिलेसम्म नियमकानुनले दिएसम्म त्यसको अग्राधिकार नगरपालिकाले प्राप्त गर्न सक्छ । यी यावत चिजहरूमा हामीले सुधार गर्ने एजेण्डा लिएका छौँ ।
समग्र रूपमा विकास र समृद्धिको पाटोलाई अहिले हामी एउटा गोरेटो कोर्दैछौँ । र त्यो गोरेटो कोर्न दलीय उम्मेदवारले सक्दैन भनेर पनि स्वतन्त्ररूपमा यो उम्मेदवारी मैले दिएको हुँ । स्वतन्त्रले गरेमा यी काम सम्पन्न हुन्छन् । अन्यथा दलीय आग्रहको खिचातानीको चेपुवामा परेर यी कामहरू गर्न सकिँदैन ।