भैरहवा । रुपन्देही जिल्लाको सिद्धार्थनगरमा रहेको एक क्यासिनोका दुई कर्मचारीमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ र मायादेवी गाउँपालिका वडा नं. ८ को मध्य भागमा पर्ने होटल एसियन बुद्ध प्रालि परिसरमा सञ्चालिन एलिगन इन्टरटेनमेन्ट क्यासिनोका महाप्रबन्धक समिर शर्मा र क्यास म्यानेजर वैकुण्ठ न्यौपानेमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको हो ।
होटलका म्यानेजरहरुको निवास मायादेवी गाउँपालिका वडा नंं. ८ बसडिलवामा सोमबार राति करिब १० बजेको समयमा निवासमा पुगेका शर्मा र न्यौपानेमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । खुकुरी प्रहारबाट हात र खुट्टामा गहिरो चोट लागेका उनीहरुलाई भैरहवास्थित युसिएमएस शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीय मायादेवी गाउँपालिका वडा नं ८ का वडा सदस्य लक्ष्मण अर्यालले सोमवार राति एसियन बुद्ध होटलका स्टाफमाथि अपत्यारिलो आक्रमण हुनु निकै शंङ्कासपद विषय रहेको बताए ।
क्यासिनोका म्यानेजर हरेन्द्र विस्टले सँगै काम गर्ने ६ जना स्टाफ सँगै बस्दै आएको बताए । उनले अरु दिन भन्दा हिजो छिटै आएको मौका पारी आक्रमण भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नविन पौडेलले अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको भन्दै उनीहरूको खोजी कार्य जारी रहेको जानकारी दिए ।