काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याउन्मूख घोषणा गरेको छ । बैंकमा समस्या देखिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र कर्जा लगानी गर्न रोक लगाएको हो ।
गत साउन ६ देखि ११ गतेसम्म उक्त बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदनअनुसार सो संस्थाको कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन गर्दा यस बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने देखिएको राष्ट्र बैंकले जनाएको छ । निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हो ।
जसकारण निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरूमा सुधार गर्ने शर्तमा मंगलबारदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइ शीघ्र सुधारात्मक कारवाही गरिएको सूचनामार्फत् राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो पनि :