काठमाडौं । नेपाल र भारतबीचको सीमापार व्यापारलाई सुदृढ बनाउन रक्सौल एकीकृत जाँच चौकी (आईसीपी) लाई रेलमार्फत जोड्ने तयारी अघि बढेको छ ।
नयाँ दिल्लीस्थित ल्याण्ड पोर्ट अथोरिटी अफ इण्डिया (एलपीएआई) को टोलीले यो रेल परियोजनाको सम्भाव्यता अध्ययन सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । यो परियोजना चाँडै सुरु हुने र सुरु भएको १२ महिनामै पुरा हुने अपेक्षा गरिएको छ ।
रक्सौल आइसीपी रेलमार्फत जोडिएपछि अहिले प्रयोगमा रहेका भन्सारका परमपरागत संरचनामा ठूलो स्तरोन्नती हुनेछ । रेलमार्फत जोडिने रक्सौल आईसीपीमा कन्टेनर ह्यान्डलिङ सुविधा थपिने छ । यसमा बल्क, लुज र ब्रेकबल्क कार्गो ह्यान्डल गर्ने क्षमता हुने जनाइएको छ । यो विस्तारित क्षमताले नेपालको वीरगञ्जको इनल्याण्ड कन्टेनर डिपो (आईसीडी) लाई धेरै राहत हुनेछ । जुन अहिले आफ्नो क्षमताको अधिकतम सीमामा चलिरहेको छ ।
हाल आईसीडी वीरगञ्जले भारत र नेपाल बीचको व्यापारको ठूलो हिस्सा ह्यान्डलिङ गरिरहेको छ । तर नेपालको बढ्दो मागसँगै यहाँ भीडभाड निकै बढिरहेको छ । रक्सौल आईसीपीमा रेल सेवाको सुरुवातले आईसीडी वीरगञ्जको दबाब कम मात्र नगरी नेपाली व्यवसायका लागि थप किफायती र प्रभावकारी विकल्प पनि दिने विश्वास गरिएको छ । रक्सौल आईसीपी रेल परियोजनाले भीडभाड घटाएर ढिलासुस्तीलाई कम गर्न र डेमरेज, डिटेन्सन र अन्य जरिवाना शुल्कहरूसमेत कम गर्न सहयोग गर्ने विश्वास गरिएको छ । यसका साथै भारतबाट नेपालमा आयात हुने सामानको लागतसमेत घटाउने विश्वास गरिएको छ ।
रक्सौल आईसीपी रेल लिंकमार्फत जोडिँदा सहज व्यापार मार्गहरू सिर्जना गर्ने, सामानको द्रुत आवागमनलाई बढावा दिने र दुई राष्ट्रहरू बीचको समग्र व्यापार बढाउने अपेक्षा गरिएको छ ।
रक्सौल आईसीपीमा परिष्कृत पूर्वाधारले नेपालको बढ्दो आयात र निर्यात आवश्यकताहरूलाई थप भरपर्दो र समयमै डेलिभरीको सुविधा पनि दिनेछ । यसले सीमा जाँच र आपूर्ति व्यवस्थापनमा अवरोधका कारण ढिलासुस्तीको सामाना गरिरहेको सडक यातायातको निर्भरतालाई पनि कम गर्ने विश्वास गरिएको छ ।
भारतले छिमेक पहिला नीति अन्तर्गत रक्सौल आईसीपीलाई रेलमार्फत जोड्न गइरहेको हो । यसले दुई देशबीचको कनेक्टिभिटी सुधार गर्न र क्षेत्रीय व्यापार बढाउन ठूलो भूमिका खेल्ने भारतको विश्वास छ ।
रक्सौल आईसीपीलाई रेलमार्फत जोड्दा यसले नेपालका व्यवसायीहरूलाई मात्रै फाइदा नभई दक्षिण एसियामा प्रमुख व्यापार साझेदारको रूपमा भारतको स्थितीलाईसमेत बलियो बनाउने भारतीय अधिकारीहरुको विश्वास छ ।
रेल लिंकको काम अघि बढ्दै जाँदा आपूर्ति व्यवस्थापन प्रणालीमा सुधार आउनुका साथै नेपाल र भारतबीचको दुई देशीय व्यापार सम्बन्ध नयाँ उचाईंमा पुग्नेमा दुवै देशका सरोकारवालाहरु आशावादी देखिएका छन् ।