शीर्षकहरू

रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै

रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइँदै छ ।

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका उनलाई मंलबार बिहान साढे ८ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउने तयारी गरे पनि टिकट नपाउँदा ल्याइने समय लम्बिएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनको बयान लिइने छ। कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

उनको बयान लिएर फेरि फेरि पोखरामै फर्काइने छ। 

गत कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले लामिछानेलाई काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।

गत कात्तिक २७ गते बुटवलमा रहेको सुप्रिम सहकारीको रकम अपचलनबारे ठगी गर्न उनलाई रुपन्देही पुर्‍याइएको थियो । तीन दिनको बयान सकिएपछि उनलाई ३० कात्तिकमा पोखरा फर्काइएको थियो । पोखरामा बयान सकिएपछि उनलाई भोलि काठमाडौँ ल्याउन लागिएको हो । आइतबार उनीमाथि सहकारी ठगी, सम्पत्ति र संगठित अपराध प्रकरणमा अनुसन्धान गर्न थप १५ दिन म्याद थपिएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडियामा सूर्यदर्शन बचत तथा ऋण सहकारी, सहारा बहुउद्देश्यीय सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, साोपाइला बचत तथा ऋण सहकारीलगायत सहकारीको रकम अनधिकृत रुपमा ल्याएको आरोप छ । उक्त कम्पनीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई हाल फरार छन् ।