काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मानव तस्करी आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ । मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो ।
उनले जापानबाट नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेजलाई आधार मानेर उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको जिल्ला न्यायाधीवक्ता सिताराम रिजालले जानकारी दिए । जापानबाट ३ जना डिपोर्ट भएर फर्किए पनि पूर्वमन्त्री भने आफैं अध्यागमनलाई जानकारी गराएर फर्किएका थिए ।
अधिकारीलाई प्रहरीले गत कात्तिक २५ गते मोरङस्थित निवासबाटै पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । अधिकारीमाथि प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नलिई जापान भ्रमणमा गएको र त्यहाँ जाँदा सँगै ३ जनालाई मानव तस्करीको प्रयास गरेको आरोप लागेको थियो ।
पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले उनी खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई लिएर जापान पुगेका थिए । तर त्यहाँको अध्यागमनले उनीहरूलाई डिपोर्ट गरिदिएपछि उक्त प्रकरण सार्वजनिक भएको थियो । उक्त प्रकणमा नेपाल फर्किएपछि उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए भने नेकपा एमालेले पनि उनलाई पार्टीबाट निलम्बन गरेको थियो ।
अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भए पनि सोही प्रकरणमा पक्राउ परेका अन्य ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले जनाएको छ ।