शीर्षकहरू

एमालेलाई महानगरले हुलाक र इमेलमार्फत् पठायो जरिवानाको सूचना

एमालेलाई महानगरले हुलाक र इमेलमार्फत् पठायो जरिवानाको सूचना
मंसिर ७ गते एमालेले दरबारमार्गमा गरेको जागरण सभा

काठमाडौँ । नेकपा एमालेले दोस्रोपटक पनि काठमाडौँ महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत् जरिवानाको सूचना पठाइएको छ । गत मंसिर ७ गते एमालेले दरबारमागर्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।

खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा  नगरेको भन्दै महानगरले  फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवानासम्बन्धी पत्र काटेको थियो । तर एमालेले उक्त पत्र बुझ्न मानेन ।

उक्त निर्णयपश्चात् शुक्रबार र आइतबार जरिवाना पत्र बुझाइएकोमा एमालेले दुवैपटक बुझ्न अस्वीकार गरेको थियो । पत्र बुझ्न अस्वीकार गरेपछि आइतबार पुन: महानगरपालिकाका प्रतिनिधिहरु जरिवाना पत्र बुझेर एमाले कार्यालय पुगेका थिए । तर एमालेले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गर्‍यो ।

सोमबार पुन: हुलाक र इमेलमार्फत् जरिवानाको सूचना पठाइएको मयेर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए ।