काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । मंसिर ९ गते कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेवोन) ले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हकप्रद शेयर निष्कासनको मिति भने कम्पनीले तय गर्न बाँकी छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर विक्रीबाट प्राप्त रकम आयोजनाको मर्मतसम्भार , ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ कायम छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ कायम हुनेछ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ ।