शीर्षकहरू

सेबोनको निर्देशनबमोजिम पुँजी थप्न ब्रोकरहरू अनिइच्छुक, भन्छन्– लगानीअनुसार व्यवसाय भएन

सेबोनको निर्देशनबमोजिम पुँजी थप्न ब्रोकरहरू अनिइच्छुक, भन्छन्– लगानीअनुसार व्यवसाय भएन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशनबमोजिम पुँजी वृद्धि गर्नमा ब्रोकर कम्पनीहरू अनिच्छुक । लगानी गरेअनुसारको व्यवसाय नभएपछि पुँजी थप गर्न कम्पनीहरू अनइच्छुक देखिएका हुन्  । 

नेपाल धितोपत्र बोर्डले २०७० भदौमा धितोपत्र कम्पनीलाई २०८२ असारमसान्तसम्ममा पुँजी  थप गर्न निर्देशन दिएको थियो । बोर्डले सीमित खालको व्यवसाय गर्ने कम्पनीलाई २० करोड रुपैयाँ पुँजी थप गर्न निर्देशन दिएको छ । यसअघिको व्यवस्था अनुसार ब्रोकर कम्पनीको पुँजी २ करोड तोकिएको छ । त्यस्तै, मार्जिन लेण्डिङ पनि गर्ने कम्पनीलाई सोही अवधि भित्रमा ६० करोड रुपैयाँ पुराउन निर्देशन दिएको छ । यसअघि यस्ता कम्पनीहरूको पुँजी पाँच करोड रुपैयाँ थियो । बोर्डले एकै पटक १० गुणा बढाएर पुँजी वृद्धि गर्न दिएको निर्देशन आफैँमा व्यवहारिक नभएको ब्रोकरहरू बताउँछन् । 

लगानी गरेपछि त्यसअनुसार प्रतिफल पनि खोजिन्छ । तर, पुँजी थप गरे अनुसारको व्यापार नै नभएको ब्रोकर एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बताए । ‘कुनै क्षेत्रमा लगानी गर्नुअगाडि प्रतिफल कति हुन्छ भनेर विश्लेषण गरिन्छ । तर, बोर्डले हचुवामा हामीलाई पुँजी थप गर्न भनेको छ । हाम्रो काम शेयर खरिद बिक्री गर्ने मात्रै हो । यसको लागि यति धेरै पुँजीको आवश्यकता नै छैन,’ उनले भने । 

पुँजी थप गर्ने हो भने प्रतिफल पाउनेगरी व्यवसायको दायर पनि बढाउनुपर्ने उनको भनाइ छ । बोर्डले पुँजी थप गर्न निर्देशन दिएको अवधि सकिन ८ महिना बाँकी छ । यो अवधिमा रकम थप गर्न सम्भव नभएको अध्यक्ष सापकोटाले बताए । 

बोर्डले २०७४ मा धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरेर ब्रोकर कम्पनीको २० लाख रुपैयाँ चुक्ता पुँजीलाई २ करोड कायम गरेको थियो । सोही पुँजीलाई बोर्डले २०७९ भदौमा २० करोड बनाएको थियो । सेबोनले नयाँ ब्रोकरलाई सेवाअनुसार तीन तहमा विभाजन गरी २० करोडदेखि १ अर्ब पुँजी तोकेर लाइसेन्स दिँदै पुरानालाई पनि ३ वर्षभित्र २० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको हो । 

तर, बोर्डले तोकेको अवधिभित्र कम्पनीहरूले रकम थप गर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. नवराज अधिकारी बताए । ‘पुँजी थप गर्न नसक्ने कम्पनीले मर्जरको विकल्प अपनाउनु सक्छन्,’ उनले भने । 

बोर्डले तोकेअनुसार पुँजी कायम गरी ४२ वटा नयाँ ब्रोकर कम्पनी सञ्चालन छन् । पुरानो पनि सोही बमोजिम पुँजी पुराउनुपर्ने उनले बताए  । हाल बजारमा ९२ ब्रोकर कम्पनी सञ्चालनमा छन् ।