शीर्षकहरू

बीआरआईबारे प्रधानमन्त्रीले भने : अहिले ऋण लिने अवस्था छैन

बीआरआईबारे प्रधानमन्त्रीले भने : अहिले ऋण लिने अवस्था छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।तर अझैँ चीन भ्रमणका एजेन्डा, विशेषगरी बीआरआई  (बेल्ट एण्ड रोड इन्सिएटिभ)  कार्यान्वयन योजना सम्झौतामा सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच अझै सहमति जुट्न सकेको छैन । कांग्रेसले स्पष्ट रुपमा बीआरआई ऋणका रुपमा लिन नसकिने अडान लिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त विषयलाई लक्षित गर्दै बीआरआई ऋणका रुपमा स्वीकार नगर्ने संकेत गरेका छन् । शुक्रबार दरबारमार्गस्थित एमालेको जागरणसभामा अहिले देशको अवस्था ऋण लिन नसकिने रहेको बताए । उनले भने, हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौँ । अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन । तर हामीले उत्पादन बढाउनुपर्छ । आफैँले उन्नति गर्नुपर्छ ।' 

उनले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने पनि बताए । छिमेकी मुलुक चीनको भ्रमण केवल घुम्नका लागि नभइ देश र जनताको हितमा केन्द्रित हुने उनभको भनाइ थियो । कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने उनले स्पष्ट पारे ।

यसैगरी उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कम्बोडियाको टेलिकममा ओलीको लगानी रहेको आरोप लगाएको विषयमा पनि खण्डन गरेका छन् । उक्त आरोपको खण्डन गर्दै उनले कम्बोडियाको टेलिकममा कसको लगानी छ भन्ने कुरा सजिलै प्रमाणित गर्न सकिने भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको उनको भनाइ छ । वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड उनले दिए ।

उहाँले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली काङ्ग्रेसको सहयात्रा गरिएको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि सरकारको आलोचना गर्दै जारी राखेको सडक प्रदर्शनीका विषयमा पनि उनले आफ्नो धारणा राखेका छन् । उनले रास्वपालाई लक्षित गर्दै उनले कसैको अनुहार नहेर्ने र गल्ती गर्नेलाई कारबाही गरिने बताए । 'नीति बनाउन नसक्ने तर गालीगलौज गर्ने? सहकारी ठग्नेहरू नै अहिले गाली गर्दैछन्,' उनले भने, 'कुनै पनि प्रकारको भ्रष्टाचार सैह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सैह्य हुने छैन । कसैलाई पनि नेकपा एमाले र अहिलेको सरकारले जुनसुकै पक्षको होस् अनुहार हेर्दैन । कारबाही गर्छ ।'